धरान : मेयर हर्क साम्पाङ आफ्नो एकल प्रस्ताव अस्वीकार भएपछि उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकमा स्थगित गरेर हिँडेका छन् ।

स्थगित भएपछि वडा-१५ का अध्यक्ष नरेश ईवरामले भने ‘मेयर हर्क साम्पाङले विधि पूर्वक स्थगित गर्नुको साटो व्यक्तिगत झोक देखाई बैठक स्थगित गरेर हिँडे ।’

कार्यपालिका बैठकमा १४ वटा एजेण्डा मध्ये ५ वटा एजेण्डा अस्वीकृत भयो । कानुन तर्जुमा मस्यौदा समिति गठन, भवन मर्मत योजना संशोधन, भोजपुर सुनसरी समाजका लागि भवन निर्माण लगायतका प्रस्ताव पास भएन ।

वडाध्यक्ष इवारमका अनुसार स्थानीय सरकार सञ्चालन ऐनको २०७५ को दफा २२ मा स्थानीय सरकारले कानुन तर्जुमा मस्यौदा समितिमा बनाउन सक्ने र त्यसको संयोजक उपमेयर रहने व्यवस्था रहे पनि मेयर साम्पाङले ‘आफै संयोजक हुन्छु भन्ने ल्याएको प्रस्ताव अस्वीकृत भएपछि उहाँ झोँक्किर हिँडेको’ बताए ।

स्थानिय सरकार सञ्चालन परिच्छेद ३ को दफा १६ भित्र रहेर काम गर्दा मेयरलाई १३ वटा अधिकार रहेकोले नगर प्रमुख अभिभावक रहेको संस्थामा प्रमुखको मर्यादा अनुसार मेयर संयोजक बस्नु नहुने सुझाव बैठकले दिएको वडाध्यक्ष इङवारमको भनाई छ ।

उनले भने ‘मेयर भनेको समिति बनाएर समितिको मूल्याङ्कन गर्ने र बेठिक भयो भने छलफल गराउने अभिभावक भएकाले उपमेयर संयोजक बन्नु पर्ने प्रस्ताव प्रस्ताव गरिएको हो ।’ उक्त प्रस्ताव ल्याउँदा ‘मेयर साम्पाङ ३ फिट माथि उफ्रँदै बैठकबाट ठाउँ छोडेर भागेको’ उनले आरोप लगाए ।

मेयर साम्पाङले संयोजक  तोक्ने आधिकार आफूलाई रहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए । विधेयक मस्यौदा तर्जुमा गर्न प्रमुख मेयर संयोजकत्वमा कार्यपालिकाले तोकिएको सदस्यहरु रहने गरि कानुन तर्जुमा समिति गठन गर्न एजेण्डा पेस भएको थियो । 

उक्त एजेण्डामा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मर्यादामा नगरसभाले बनाएको विधायन समिति भन्दा तल भएकोले मेयर संयोजक नबस्न र उपमेयरलाई संयोजक बनाएर लैजान प्रस्ताव गरेका थिए ।

कार्यपालिका सदस्य दिनेश गजमेरले मेयरको संयोजकत्वमा बनेको समितिले बनाएको विधेयकलाई नगरसभाले बनाएको विधायन समितिले रोक्न सक्ने भएकोले उक्त समितिमा मेयर आफै बस्न उचित नहुने धारणा राखेका थिए ।

तर, मेयर साम्पाङले समिति संयोजकमा आफै बस्ने अडान लिएपछि उक्त एजेण्डमा सहमति हुन सकेन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रादेशिक कार्यालयको लागि धरान-१६ स्थित कृषि विकास बैङ्कको स्वामित्वमा रहेको भवन मर्मत गर्ने एजेण्डामा पनि विवाद भयो ।

वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले उक्त भवन प्रयोग गर्नेबारे बैङ्क, प्रतिष्ठान र नगर बिच भएको सम्झौता देखाउनुपर्ने र भवन मर्मत गर्न लाग्ने खर्चको स्रोत पनि खुलाउनुपर्ने माग गरे ।

मेयर साम्पाङले प्रतिष्ठानको कार्यालय धरानमा राख्ने विगतमै निर्णय भइसकेको जिकिर गर्दै मर्मत गर्ने निर्णय मात्र गर्न आग्रह गरेका थिए । उनले मर्मत गर्ने खर्चको स्रोत खोज्ने जिम्मा आफ्नो भएको र सम्झौता प्रशासनमा बैठक पछि गएर हेर्न आग्रह गरेका थिए । 

उक्त एजेण्डामा चर्काचर्की भएपछि बैठकमा पारित हुन सकेन । सोही एजेण्डामा उपमेयर अइन्द्रबिक्रम बेघाले बोल्न खोज्दा मेयर साम्पाङले विविधको अर्को एजेण्डा पढ्न थालेका थिए । तर, एक्कासि मेयर साम्पाङले बैठक स्थगित भयो भनेर उठेर हिँडेका थिए । 

बैठकपछि उपमेयर अईन्द्र बेघाले प्रतिक्रिया दिँदै भने ‘मेयरले सबैलाई समेट्ने हो बोल्न समेत दिएनन् ।’ उनले संस्थागत कुरा गरौँ, सबैको भावना जोडेर जाऊ भन्न खोजेको बताए ।

भोजपुर सुनसरी समाजका लागि भवन निर्माण गर्न जुन वडामा जग्गा रहेको छ त्यस वडाको सिफारिस गरेपछि पास गर्ने गरि स्थगित भएको थियो ।