धरान : सात वर्ष अघिबाट हरेक वर्ष अङ्ग्रेजी संवत् मार्च महिनाको अन्तिम शनिवार मनाइँदै आएको ‘विश्व नेवा: दिवस’ पहिलो पटक शनिवार धरानका नेवार समुदायले मनाएका छन् ।

सातौँ विश्व नेवा: दिवसमा साँझ नेवा: देय दबूँ केन्द्रीय सल्लाहकार सरला कायस्थले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरी दीप प्रज्वलन गर्दै मनाइएको हो ।

धरान-३ स्थित पुरानो बजारमा रहेको शंखधर साख्वा पार्कमा नेवार एकता समाज धरान अन्तर्राष्ट्रिय उपसमितिले विश्व नेवा: दिवस आयोजना गरेको हो ।

समाजका अध्यक्ष महेश श्रेष्ठले यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको बताए । उनका अनुसार आफ्नै भाषा र लिपि संस्कार संस्कृति रहेकोले विश्वमा इतिहास रचेको भन्दै विश्व नेवा: दिवस मनाउन थालिएको हो ।

अध्यक्ष श्रेष्ठले भने ‘नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो ।’

धरानमा पहिलो पटक मनाउने भएपछि पूर्वका बिर्तामोड, सङ्खुवासभा, विराटनगरमा पनि विश्व नेवा: दिवस मनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विश्वभरका नेवा: समुदाय एक हौ भन्ने नाराका लगाइएको थियो ।

dip-news-diwas