धरान : कोशी प्रदेश फुटबल सङ्घले एशियाली फुटबल सङ्घबाट मान्यता प्राप्त डी लेभलको सामुदायिक फुटबल प्रशिक्षक प्रशिक्षण प्रारम्भ गरेको छ ।

धरान-१७ स्थित एन्फा एकेडेमी सोमवार आयोजित एक समारोह बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले प्रशिक्षणको उद्घाटन गरे ।

फुटबल लगायत खेलकुद खेलाडीहरूको विधा मात्र नभएर मानवीय स्वास्थ्य, अनुशासित र गतिशील समाज निर्माणको महत्त्वपूर्ण आधार भएको उनले बताए ।

मन्त्री सुनुवारले बाल्यकालबाटै खेलकुद प्रति रुचि जगाउने कार्यले युवाहरूमा आत्मविश्वास देशप्रति मायाको भावना जगाउने बताउँदै भने, ‘अहिले मुलुकमा खेलकुदका बाहेक अन्य कार्यक्रमहरूमा युवाहरूको सहभागी नै देखिन्न ।’

नेपालमा पहाड, तराई सबै भूगोलका युवा बालबालिकामा फुटबल प्रति गहिरो आकर्षणका कारण भौतिक पूर्वाधारहरू तयार भएपनि दक्ष खेलाडी उत्पादन गर्न आवश्यक प्रशिक्षकको अभाव रहेको मन्त्री सुनुवारले बताए ।

उनले कोशी प्रदेश फुटबल सङ्घको प्रशिक्षणबाट तयार हुने प्रशिक्षकहरूबाट प्रदेशको फुटबलमा नयाँ आउँदो पुस्तका नयाँ खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

एन्फा एकेडेमीमा चल्ने ४ दिने सामुदायिक प्रशिक्षण तालिम कोर्ष पुरा गरेपछि सहभागी फुटबल प्रशिक्षकहरूलाई एएफसीको मान्यता प्राप्त ‘डी’ लेभलको प्रमाणपत्र प्रदान गरिने छ ।

प्रशिक्षणमा कोशी प्रदेशका जिल्ला फुटबल सङ्घहरूबाट ५४ जना प्रशिक्षकहरू सहभागी छन् । उनीहरूलाई प्रशिक्षक सञ्जीव सिंह र हरि खडकाले प्रशिक्षण दिने छन् ।

जिल्लामा फुटबल सङ्घले सञ्चालन गर्ने ग्रास रुटका फुटबल प्रशिक्षणका लागि आधिकारिक प्रशिक्षक तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।  

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले एन्फा अबको दश वर्षमा विश्व फुटबल कपमा नेपाललाई उभ्याउने लक्ष्य लिएर अघि बढेको बताए ।

फुटबलको खेलाडी उत्पादन गर्ने मात्र नभएर फुटबलको रेफ्रि लगायत प्राविधिक पक्षका दक्ष जनशक्ति तयार गर्ने दिशामा पनि एन्फा अघि बढेको बताउँदै भने, ‘सबै भन्दा छिटो विश्वमा देशलाई चिनाउने खेलकुदमा राज्यको लगानी भने हुन सकेको छैन ।’

कार्यक्रममा प्रशिक्षक हरि खड्का, धरानका निवर्तमान मेयर तिलक राई, पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्द तुम्बाहाङ, काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले प्रशिक्षणको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम गणेश परियारले सञ्चालन गरेका थिए ।

AFC 2