धरान : धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले स्थानीय सहकारी संस्थाहरूलाई बचतकर्ताप्रति जिम्मेवार बनाउँदै व्यवस्थित रूपमा सञ्चालन गर्न गराउन स्थानीय सहकारी सञ्चालन ऐन नियम र विनियम बनाउने प्रस्ताव मेयर हर्क साम्पाङको टेबुलमा पुर्‍याएको बताएका छन् ।
६७औँ राष्ट्रिय सहकारी दिवसमा मङ्गलवार आयोजित कार्यक्रममा उनले स्थानीय सरकारको ऐन, नियम र विनियम नहुँदा सहकारीमा देखिएका विकृति, विसङ्गति नियन्त्रण हुन नसकेको बताए ।
सहकारीलाई बचतकर्ताप्रति उत्तरदायी र व्यवस्थित रूपमा ऐन, नियम र विनियमको दायरमा सञ्चालन गर्न सहकारी सम्बन्धी स्थानीय ऐन निर्माण गर्ने प्रस्ताव मेयर हर्क साम्पाङको टेबुलमा पुर्‍याएको बताएका हुन ।
उपमेयर बेघाले भने ‘सहकारी ऐन नियम र विनियमको प्रस्ताव टिप्पणी उठाएर मेयर हर्क साम्पाङ टेबलमा पुगेको छ, बचतकर्ताको हितका लागि जति सक्दो चाँडो स्थानीय ऐन बन्नु पर्छ ।’
उनले सानो पुँजी सङ्कलन गरेर नगरको आर्थिक गतिविधि बढाउन सहकारीलाई प्रोत्साहित गर्दै ऋण खाएर भाग्ने ऐन नियम सङ्गत नचलेका सहकारीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न स्थानीय कानुन बनेपछि सहज हुने बताए ।
सहकारी दिवस जिल्ला सहकारी सङ्घ सुनसरीको आयोजनामा मनाइएको हो । धरान-१५ चुम्लुङ हिममा भएको सभामा धरान-१५ का वडाध्यक्ष नरेश कुमार इवारमले सहकारी नियमन गर्ने ७ वटा अधिकार स्थानीय तहलाई दिएको तर कार्यान्वयन नभएको बताए ।
उनले सहकारी ऐन २०७४ भित्र रहेर प्रदेश सहकारी ऐन २०७५ लागु भएपनि स्थानीय सरकारले स्थानीय सहकारी ऐन २०७५ नियमावली पारित नगरेका कारण स्थानीय सहकारी ऐनको दफा ६१ लागु नभएकोले बचतकर्ताले दुःख पाएको बताए ।
कार्यक्रममा प्रदेश सहकारी रजिष्टार, प्रशिक्षण कार्यालय इनरुवाका अधिकृत मनोज कार्कीले सुशासन प्रविधि र एकीकरणको महत्त्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले आम बचतकर्ताले जम्मा गरेको रकम केही स्वार्थ समूहले अपचलन गरेका कारण पछिल्लो समय सहकारी क्षेत्र बदनाम भएको साथै धेरै बचतकर्ताको रहम डुबेको बताए ।
यसअघि सुनसरीका सहकारी संस्थाहरू सहभागी रहेको र्‍याली सदनरोड देखी छाता चोक, भानुचौक हुँदै धरान-१५ स्थित चुम्लुङमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा धरान-१५ का वडाध्यक्ष नरेश ईवरामलाई लामो समय देखी सहकारीका लागि योगदान पुर्‍याएकोमा सम्मान गरियो । सहकारीको ऐन, नियम अनुसार चल्दै आएको इटहरी स्थित जुनतारा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट सहकारीको सम्मान प्रदान गरियो ।
सभा सहकारी सङ्घका अध्यक्ष गङ्गा प्रसाद दाहालको सभापतित्वमा भएको थियो । संयोजन उपाध्यक्ष दिनेश श्रेष्ठले गरेको थिए । सुनसरी जिल्लामा ५४२ वटा सहकारी दर्ता भए पनि सहकारी दिवसमा ८८ वटा सहकारीको मात्र सहभागी थिए ।
sahakari-day-3sahakari-program