धरान : विक्रम राई स्मृति भेट्रान फुटबल कप फुटबलको चौथो संस्करणमा यसपालि कोशी प्रदेशका ख्याति प्राप्त भेट्रान खेलाडीहरू रहेका दर्जन भेट्रान फुटबल क्लब धरान रङ्गशालामा उत्रिने भएको छ ।

प्रतियोगिता चैत २३ गते शुक्रवार सुरु हुँदै छ । धरान भेट्रान फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेल उदयपुरको कटारी टाइगर भेट्रान र धनकुटा राजारानीको रारा भेट्रान फुटबल क्लब बिच हुनेछ ।

भेट्रान फुटबलबारे जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलन आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले भने, ‘प्रतियोगितामा सहभागी क्लबहरूमा नेपाली फुटबलका ख्याति प्राप्त पूर्वका खेलाडीहरू छन् ।’

सामान्यतः४० वर्ष सम्मका खेलाडीलाई भेट्रान मानिने गरिएको छ । नेपालमा भर्खरै सुरु भएको भेट्रान प्रतियोगिताहरूमा भने क्षमता भएका ५० वर्ष सम्मका खेलाडीहरू पनि सहभागी हुने गरेको आयोजक क्लबका महासचिव सतिश केसीले बताए ।

प्रतियोगिताको चौथो संस्करणमा कोशी प्रदेशका १२ वटा भेट्रान क्लबहरू सहभागी छन् । सहभागी क्लबहरूमा आयोजक धरान भेट्रान्स, मिल्स भेट्रान फुटबल क्लब विराटनगर, सिध्राहा भेट्रान्स, कन्काई भेट्रन्स झापा, उदयपुरको कटारी टाइगर नर्थ पोलमा छन् ।

साउथ पोलमा हाम्रो धरान भेट्रान फुटबल क्लब, हाम्रो इटहरी भेट्रान, एभरेस्ट भेट्रान बेलबारी, झापाको दमक भेट्रान, काँकडभिट्टा भेट्रान फुटबल क्लब र विराट मेघा फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कारसँगै भेट्रान कप, मेडल प्रदान गरिने छ । उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ ।

खेलमा म्यान अफ द म्याचलाई २१ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता अवधिमा ९ वटा व्यक्तिगत विधामा खेलाडीहरूलाई नगद ३५ सय सहित ट्रफी मेडल प्रदान गरिने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता धरानका चर्चित फुटबल खेलाडी विक्रम राईको असमयमै भएको निधनको स्मृतिमा आयोजना गर्न थालिएको हो । विक्रमले अन्डर १६ को राष्ट्रिय फुटबल टिमका साथै धरान फुटबल सहित विभिन्न क्लबबाट प्रतियोगिताहरू खेलका थिए ।

धरान पहिलो पटक २०७७ सालमा धरान भेट्रान फुटबल क्लब गठन हुँदा विक्रम संस्थापक महासचिव थिए । ५ वर्ष अघि कोविडको कारण उनको असामयिक निधन भएको थियो । विक्रम कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईका भाइ थिए ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका संरक्षक प्रदेश फुटबल सङ्घको अध्यक्ष किशोर राईले नेपालमा पछिल्लो समय नेपाली फुटबलमा ख्याति प्राप्त भेट्रान खेलाडीहरूको सक्रियता बढेको बताए ।

उनका अनुसार नयाँ पुस्तालाई अवसर प्रदान गर्न र भेट्रान खेलाडीहरूलाई फुटबलमा क्रियाशील राख्न भेट्रान क्लबहरूको महत्त्वपूर्ण भूमिका छ ।

त्यसैले भेट्रान खेलाडी र क्लबलाई एन्फाले वैधानिक मान्यताको दायरामा ल्याउन जरुरी भएको बताउँदै एन्फाका मानाथै केन्द्रीय उपाध्यक्ष पनि रहेका राईले भने ‘यस विषयमा मेरो पहल रहने छ ।’

पत्रकार सम्मेलनमा आयोजक क्लबका सल्लाहकार इन्दु रसाइली, वरिष्ठ पत्रकार हर्ष सुब्बाले फुटबलको विकासमा भेट्रान क्लबको भूमिका बारेमा आफ्ना धारण राखेका थिए ।