धरान : युवा अवस्थामा निधन भएका फुटबलर विक्रम राईको स्मृतिमा सञ्चालित चौथो विक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिता चैत २३ गते देखी सुरु हुने भएको छ ।

प्रतियोगिता भेट्रान फुटबल क्लबको आयोजनामा हुँदै आएको छ । प्रतियोगिता धरान-१६ स्थित रङ्गशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा १२ वटा टिम सहभागी हुने क्लबका सचिव सतिश केसीले जानकारी दिएका छन् ।

चैत्र २३ देखि ३० गते सम्म चल्ने भेट्रान फुटबल प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय भेट्रान खेलाडीहरूले सहभागी हुने सचिव केसीले बताए ।

क्लबका अध्यक्ष रोमी मोक्तानका अनुसार प्रतियोगितामा विजेताले १ लाख ५ हजार नगद र उपबिजेताले ६० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरिने छ । प्रतियोगितामा ९ वटा व्यक्तिगत विधा सहित म्यान अफ द म्याचलाई नगद पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।

स्वस्थ्य नागरिक, स्वास्थ्य समाजको सकारात्मक सन्देश दिने उद्देश्यका साथ चालिस वर्ष उमेर काटेका ख्याति प्राप्त खेलाडीहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मोक्तानले बताए ।

प्रतियोगितालाई कोशी प्रदेश, धरान उपमहानगरपालिका, सङ्घसंस्था, धरान भेट्रान क्लब हङकङ, युके, अस्ट्रेलिया, जापान, कोरिया, दुबई, कतार, बहराईनमा रहेका फुटबल प्रेमीहरूले सहयोग गर्ने भएको बताइएको छ ।