झापा : विद्युत् चोरी गर्दा हुने जोखिम तथा कानुनी कारबाहीप्रति जनचेतना बढाउन सोमवार गौरादहमा प्रभातफेरी गरिएको छ ।
प्रभातफेरीमा सहभागीले जोखिम घटाउन साझेदारी, हाम्रो जिम्मेवारी, नगरौँ है चोरीको धन्दा, परिएला कानुनको फन्दा, सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, सुरक्षा प्रतिमा चासो, दुर्घटनाबाट बच्ने साँचो लगायतका नारा लगाएका थिए ।
प्रभातफेरी विद्युतीय सुरक्षा दिवस मनाउन विद्युत् प्राधिकरण गौरादह वितरण केन्द्रले आयोजना गरेको हो । जुलुसमा प्राधिकरणमा कर्मचारी सम्मिलित थिए ।
गौरादह फ्युज सेवाबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी समापनमा वितरण केन्द्र प्रमुख सागर पोखरेलले विद्युतीय सुरक्षा अनिवार्य आवश्यकता रहेको बताए ।
प्राधिकरणले सोसाइटी अफ इलेकट्रिकल इन्जिनियर्ससँगको सहकार्यमा विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउन २०७३ सालदेखि चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ।


































































