धरान : धरान रङ्गशालामा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबलको सोमबारको २ खेलमा पालैपालो धरानका २ टिम धरान भेट्रान फुटबल क्लब र हाम्रो धरान भेट्रान फुटबल क्लब विजयी भई प्रतियोगीको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा आयोजक धरान भेट्रान क्लबले कन्काई भेट्रान फुटबल क्लब सुरुङ्गा झापालाई १०-२ गोल विशाल फराकिलो अन्तरले पराजित गर्‍यो । खेलामा विजेता भएसँगै धरान भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा हाम्रो धरान भेट्रान क्लबले ट्राइबेकरमा पेनाल्टी सुटआउट गर्दे ४-२ गोलले हाम्रो इटहरी भेट्रान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान १६ रङ्गशालामा जारी प्रतियोगिता धरान भेट्रान क्लबको आयोजनामा भएको हो ।
निर्धारित ६० मिनेटको पहिलो खेलमा धरान भेट्रानका कप्तान मिलन श्रेष्ठले खेलको ३०, ३९, ४२, ४५, ५७ मिनेटमा ह्याट्रिक सहित कुल ५ गोल गर्न भ्याए । मित्र बस्नेतले खेलको ६,४१,५९ मिनेटमा ह्याट्रिक गर्दै ३ गोल गरे। बिकर्ण श्रेष्ठले पहिलो हाफको १२ मिनेटमा १ गोल, कृष्ण शाक्यले दोस्रो हाफको ४९ मिनेटमा १ गोल गरे । कन्काई भेट्रान फुटबल क्लब सुरुङ्गाका पालुम किपगेनले खेलको ३१ मिनेटमा १ गोल, घनश्याम दाहालले खेलको ५० मिनेटमा १ गोल गरे ।
दोस्रो खेलमा हाम्रो धरान भेट्रान क्लब धरान र हाम्रो इटहरी भेट्रान क्लबबाट खेलको निर्धारित समयमा १÷१ गोल मात्र भएपछि खेल ट्राईबेकरमा पुगेको थियो ।
टाईबेकरमा हाम्रो धरान भेट्रानका पदम राई ,कृष्ण कुमार लिम्बु, तीर्थ आले मगर, सुरज श्रेष्ठले गोल गरे । राकेश राईले प्रहार आउट भयो ।
हाम्रो इटहरी भेट्रान्सका कमल बस्नेत, निर्मल तामाङले गोल गरे भने जीवन सुवेदी र गोविन्द श्रेष्ठको प्रहार आउट भयो ।
पहिलो खेलको म्यान अफ द म्याच आयोजक धरान भेट्रानका मिलन श्रेष्ठ र दोस्रो खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रानका गोल किपर देव सिंह घोषित भए । उनीहरूलाई २१-२१ सय नगद पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार र उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ।
भोली मङ्गलवार अन्तिम क्वाटर फाइनल खेल दमक लखनपुर भेट्रान क्लब र काँकडभिट्टा भेट्रान क्लब बिच हुने आयोजकले जनाएको छ ।
dharan-man-of-the-match 1