धरान : लखनपुर भेट्रान क्लब दमक धरानमा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा मङ्गलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकडभिट्टा भेट्रान क्लब झापालाई १-० गोलले स्तब्ध बनाउँदै लखनपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३८ औँ मिनेटमा सुबास आङथुपोले गरेको गोल नै आजको खेलमा निर्णायक गोल बन्यो । सोही गोलले लखनपुरलाई सेमीको यात्रा गराएको हो । खेलको म्यान अफ दि म्याच पनि आङथापो नै घोषित भए । उनले नगद २१ सय रुपैयाँ प्राप्त गरे ।

खेल अवधिभर काँकडभिट्टाले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्ने नसक्दा प्रतियोगिताको क्वाटर फाइनलबाट बाहिरिएको छ ।   

प्रतियोगिताको सेमिफाइनल खेल भोली बुधवार देखी सुरु हुने आयोजकले जनाएको छ। पहिलो सेमिफाइनल खेल हाम्रो धरान भेट्रान क्लब र दमक लखनपुर भेट्रान बिच हुनेछ ।

दोस्रो खेल आयोजक धरान भेट्रान क्लब र रारा भेट्रान क्लब राजारानी धनकुटा बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार र उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ ।