धरान : धरान रङ्गशालामा जारी चौथो विक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको आज बुधवार भएको सेमिफाइनल खेलबाट हाम्रो धरान भेट्रान र आयोजक धरान भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा हाम्रो धरान भेट्रान क्लब ट्राइब्रेकरमा ४-२ गोलले लखनपुर भेट्रान क्लबलाई पाखा लगाउँदै ट्राईबेकरमा फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेलमा आयोजक धरान भेट्रान क्लब ४-१ गोलले रारा भेट्रान क्लब राजारानी धनकुटालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ६० मिनेटको पहिलो खेलमा हाम्रो धरान भेट्रान क्लब र दमक लखनपुर भेट्रान क्लब दुवैले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा खेल ट्राईबेकरमा पुगेको थियो ।

ट्राईबेकरमा हाम्रो धरान भेट्रानका पदम राई, कृष्ण कुमार लिम्बु,राकेश राई, तीर्थराज मगरको गोलले टिमलाई फाइनलमा पुर्‍यायो । 

दमक लखनपुर भेट्रानका सुवास आङथुपो र लोक बहादुर आलेले मात्र गोल गरे । मोहन तामाङ र दिपेन मगरको प्रहार आउट भयो ।

दोस्रो खेलमा आयोजक धरान भेट्रानका कृष्ण शाक्यले १ गोल र विकर्ण श्रेष्ठको ३ गोल गरे । रारा भेट्रान क्लब राजारानीले थुप्रै अवसर गुमाए । खेलमा सूर्यकुमार लिम्बुले १ गोल गरे ।

खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रानका विकास राना मगर र आयोजक धरान भेट्रानका विर्कण श्रेष्ठ घोषित भई नगद २१ /२१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल पर्सी शुक्रवार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार र उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ ।