इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका काम गर्ने एक युवाको मृत्यु भएको छ ।

आज सोमबार दिउँसो पौने २ बजे इटहरी बुढिखोला स्थित वृहत् मुक्तिघाट क्षेत्र विकाश समितिमा दाउराको हार मिलाउने तथा शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय विनोद तामाङको मलामी आएका दुई युवाको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इटहरी उपमहानगरपालिका-४ गैरीगाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका विनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।