धरान : धरानमा अल्फा बिटा खुल्ला खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गते देखि सुरु हुने भएको छ । प्रतियोगिता जेठ ३ गते सम्म चल्ने छ ।

प्रतियोगिताको फाइनलका दिन पूर्व खेलाडी, गायक कलाकार प्रकाश पौडेलको प्रयोजनमा थ्री पोइन्ट प्रतियोगितामा पनि हुनेछ ।

प्रतियोगितामा बास्केटबल क्लबहरू तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय महिला पुरुष खेलाडीहरू बिच प्रतिस्पर्धा गर्नेछन् । आयोजक सुनसरी जिल्ला बास्केटबल सङ्घले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो ।

धरान रङ्गशाला स्थित स्टेडियममा हुने प्रतियोगितामा पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिम सहभागी हुने संयोजक विकास चाम्लिङले बताए । प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्लाका क्लबहरू सहभागी हुनेछन् ।

प्रतियोगिता धरान-२ भानुचौक स्थित अल्फा बिटा कोयला एजुकेसन कन्सल्ट्यान्टको मुख्य प्रायोजनमा आयोजनामा हुँदै आएको छ ।

धरानमा ६ वर्ष अघि देखी सञ्चालन हुँदै आएको अल्फा बिटा स्वदेश तथा वैदेशिक अध्ययनका लागि परामर्श प्रदायक कम्पनी हो । हाल सम्म अल्फा बिटामा परामर्श प्राप्त अढाई सय बढी विद्यार्थी युरोपेली मुलुकमा अध्ययन गरिरहेको सञ्चालक सञ्जीव बान्तवाले जानकारी दिए ।

प्रतियोगिताका पुरुष विजेताले नगद ५० हजार र उपबिजेताले २५ हजार तथा महिला विजेताले नगद २० हजार र उपबिजेताले १० हजार सहित ट्रफि, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडी पुरुष नगद १० हजार महिला ५ हजार, उदयीमान खेलाडी पुरुष नगद ५ हजार महिला २५ सय ट्रफि, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।

प्रकाश पौडेलको प्रयोजनमा हुने प्रतियोगितामा महिला र पुरुष दुवै विजेताले नगद ५ हजार सहित ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन् । पत्रकार सम्मेलन सुनसरी जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीको सभापतित्वमा भएको थियो ।