धरान : सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चले वीपी प्रतिष्ठानसँग सिधै पार्टीका कार्यकर्ता भर्ती गर्नको लागि जागिरको कोटा माग गरेको छ ।

मञ्चले माग गरेको कोटामा सेक्युरिटी गार्ड ५ जना, सरसफाइ कर्मचारी ५ जना, स्टाफ नर्स ५ जना, प्रशासन शाखा कर्मचारी ३ जना, डेन्टलमा ५ जना, ड्राइभरमा २ जना छ ।

कुनै राजनीतिक दलले यसरी सिधै लिखित मागको रूपमा विश्वविद्यालयीय शैक्षिक संस्थासँग यसरी खुल्ला कोटा मागेको पहिलो घटना हो ।

मञ्चले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेको छ।पत्रमा प्रतिष्ठानमा अनियमितता, भ्रष्टाचार, बेतिथिहरूलाई पार्टीले गम्भीर रूपमा हेरिरहेको भन्दै मञ्चले उक्त माग गरेको हो ।

इमरजेन्सीमा आएको बिमारीलाई प्रतिष्ठानबाट विराटनगर रेफर नगरियोस् भन्दै यदि रेफर गरेको सूचना पार्टीलाई आएमा पार्टीले गम्भीर रूपमा हेरेको पनि पत्रमा उल्लेख छ ।

सेवाग्राहीलाई अपमान नगर्न, ओपिडीमा आएका बिरामीलाई नझुलाउन, एमआरआई मेशिन सुचारु गर्न पनि माग गरिएको छ ।

बिपीमा व्यवस्था भएको पेइङ वार्ड बन्द गर्न पनि माग गरेको छ । नेपाल सरकारबाट तलब पाउने डक्टरहरूको निजी स्वार्थको लागि पेइङ्ग खोलेको पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण भनिएको पत्रमा पार्टीको जिल्ला भूपेन्द्र सुन्दर लावती, अध्यक्ष तेज कुमार लिम्बु, स्वास्थ्य विभाग प्रमुख सन्तोष लिम्बुले हस्ताक्षर गरेका छन् ।

BPKIHS-kota-limbuwan