धरान : पानबारी फुटबल क्लबद्वारा पहिलो पटक आयोजना भएको प्रथम पानबारी गोल्डकप फुटबल प्रतियोगिता आज शनिवार देखी सुरु हुँदैछ ।

गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष भूपाल राईले बताएका छन् । उनका अनुसार गोल्डकपको उद्घाटन सांस्कृतिक झाँकी सहितको समारोहका बिच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबाट हुनेछ ।

धरान ६ स्थित बाजिपा खेल मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेल बुल्स ११ इटहरी र केफसी केराबारीबिच हुनेछ । गोल्डकप वैशाख २१ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमहरूमा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स ११ इटहरी, योङ व्वाइज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लब, आरआइएफसी काठमाडौँ रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ ट्रफि प्रदान गरिने छ । उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनको अनुमानित बजेट १५ लाख रहेको बताइएको छ । खर्चको व्यवस्थापन, स्थानीय सरकार देश विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगबाट गरिने क्लबका सहसचिव सुरेन मुदेलले बताए ।

स्थानीय स्तरबाटै खेलाडी उत्पादन गरेर फुटबल खेललाई व्यावसायिकीकरण गर्दै जाने क्लबले जनाएको छ ।panbari-goldcup