विराटनगर : उपभोग्य वस्तुको बजार अनुगमन प्रभावकारी नभई रहेकोले ठगिनबाट उपभोक्ताहरू आफै सजग बन्नु पर्ने अवस्था भएको विराटनगरका मेयर नागेश कोइरालाले बताएका छन् ।

बजार अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परे पनि समन्वयका अभावमा अनुगमन प्रभावकारी हुन नसकेको उनले बताए । अनुगमन गर्दा अन्य सरकारी निकायका प्रतिनिधिलाई समेत सहभागी गराउनु पर्दा समस्या देखिएको मेयर कोइरालाले स्पष्ट खुलाए । 

उनले भने ‘ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको जिम्मेवारी तोकेको छ । गुणस्तर, नापतौल, प्रशासन सहितका सरकारी निकायका प्रतिनिधिले आलटाल गर्छन्, जसले गर्दा अनुगमन प्रभावकारी भइरहेको छैन ।’

राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समितिको एकदिने उपभोक्ता सचेतना प्रशिक्षणमा मेयर कोइरालाले उक्त खुलासा गरेका हुन । उनले यस्तो अवस्थामा सचेत र जागरूक उपभोक्ताको खाँचो रहेको बताए ।

जबसम्म उपभोक्ता आफैँ सचेत हुँदैन तबसम्म उपभोक्ता अधिकार स्थापित नहुने, गुणस्तर, तौल र मूल्यमा हुने ठगी नरोकिने बताए । 

सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म उपभोक्ता भएकाले उपभोक्ताको हक अधिकार स्थापित गर्न सामानको गुणस्तर, उपभोग्य मिति, मूल्य सबै हेरेर मात्रै खरिद गर्ने बानीको विकास गर्नु जरुरी भएको उनको भनाई थियो ।

मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, विराटनगर ८ का वडाध्यक्ष राम पोखरेल, अधिकारकर्मी भारती उपाध्याय, मञ्चकी अध्यक्ष शोभा निरौला, उपाध्यक्ष भूमिका गिरी, सचिव चूडा ठकुरीले उपभोक्ता अधिकारका बारेमा धारणा राखे ।

प्रशिक्षणमा खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी र गुणस्तर तथा नापतौल निरीक्षक मनीषा राईले आधारभूत विषयमा जानकारी दिए । प्रशिक्षणमा १०० बढी महिला सहभागी भएको सचिव चूडा ठकुरीले जानकारी दिइन् ।