धरान : संयुक्त राष्ट्र सङ्घको हिजो शुक्रवार बसेको महासभाले प्यालेस्टाइनलाई राष्ट्र सङ्घको पूर्ण सदस्यता प्रदान गर्ने पक्षमा भारी बहुमतले समर्थन जनाएको छ ।

महासभामा प्रस्तुत प्यालेस्टाइनलाई राष्ट्र सङ्घको स्थायी सदस्य बनाउने प्रस्तावमा १४३ देशले समर्थन गरेको हो । विपक्षमा ९ देशले मतदान गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

प्रस्तावको विरोधमा मतदान गर्ने देशमा अमेरिका र इजरायल सामेल छन् । अमेरिकाले गएको महिना राष्ट्र सङ्घको सुरक्षा परिषदमा पनि यस्तै प्रकृतिको प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घको सदस्यताको अन्तिम निर्णय सुरक्षा परिषद्ले गर्दछ । फेरी पनि प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने प्रस्ताव सुरक्षा परिषदमा लैजाँदा अमेरिकाले भिटो प्रयोग गर्ने शुक्रवार भएको मतदानपछि आशङ्का गरिएको छ ।

राष्ट्र सङ्घमा शुक्रवार प्यालेस्टाइनलाई जुटेको समर्थनले भने दुनियाँ भरमा प्यालेस्टाइनको पक्षमा समर्थन बढेको देखाएको छ ।

अहिले प्यालेस्टाइनी क्षेत्र संयुक्त राष्ट्र सङ्घको सदस्य देश छैन, पर्यवेक्षक मुलुकको रूपमा प्यालेस्टाइन राष्ट्र सङ्घका सहभागी हुँदै आएको छ ।

यसै बिच इजरायली विदेश मन्त्रीले राष्ट्र सङ्घको प्यालेस्टाइननलाई पूर्ण सदस्यता दिने दिने निर्णय ‘बेमतलबको फैसला’ भएको बताएका छन् ।