धरान : विश्व नर्सिङ दिवसको अवसरमा आइतबार आयोजित समारोहमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्ष भन्दा बढी सेवा गरेका १२३ जना नर्सहरूलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रतिष्ठानमा ७०० बढी नर्स कार्यरत छन् । उनीहरू मध्ये लामो समयदेखि सेवारत नर्सहरूलाई २०४ औँ विश्व नर्सिङ दिवसमा उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरिएको हो ।

उनीहरूलाई प्रमुख अतिथि कोशी प्रदेशसभाकी सदस्य यशोदा कायस्थ लगायतले प्रंशसापत्र प्रदान गरेकी थिइन । उक्त अवसरमा सांसद कायस्थले अस्पतालमा बिरामीलाई उपचारसँगै अनिवार्य चाहिने हेरचाह मानवीय सेवामा जीवन बिताएका नर्सहरू नर्सिङ दिवसका दिन मात्र नभएर सधैंनै सम्मानका पात्रहरू भएको बताइन् ।

उनले नर्सहरूको वृत्ति विकासमा प्रतिष्ठानले पहिलो प्राथमिकता दिनु पर्ने बताउँदै बिपीमा नर्सहरूको कोटा बढाउनु पर्नेमा जोड दिइन् । नर्सिङ एसोसिएसनकी अध्यक्ष तथा मेट्रोन कला थापाले नर्सिङ दिवसलाई प्रतिष्ठान भित्र सीमित नराखेर स्वास्थ्य शिविरहरू आयोजना गरी सार्थकता दिइएको बताइन् । उनका अनुसार नर्सिङ दिवसको अवसरमा शनिवार धरान-१५ स्थित ज्ञानचक्षु विद्यालय निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो ।

शिविरमा विद्यालयका ६५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई खाना खुवाउँदै नर्सिङ दिवस मनाइएको थियो ।

‘नर्सहरू नै भविष्य हुन र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरू सँगै छ’ भन्ने नाराका साथ विपी प्रतिष्ठानमा आयोजित समारोह अघि रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रमबाट ६३ प्रिन्ट रगत सङ्कलन भएको छ ।

समारोह स्थल अडिटोरियम हल परिसरमा नर्स दिवसको महत्त्व र नर्सहरूको जिम्मेवारीबारे जानकारीमूलक मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो ।

विश्व नर्सिङ दिवस मे १२ का दिन लेडी विथ द ल्याम्पको उपनामले परिचित फ्लोरेन्स नाइटिङ्गलको जन्म दिनको रूपमा प्रत्येक वर्ष मनाइने गरिन्छ ।

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा सञ्जीव शर्मा, रजिष्टार प्राडा. सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल नायब निर्देशकद्वय डा. लोकेश जसवाल, डा. इन्द्र लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व नर्सिङ अध्यक्ष बीपी प्रतिष्ठानकी मेट्रोन कला थापाले गरेकी थिइन् ।

nursing-Day-KapuriNewsnursing-day-BP-KapuriNews