धरान : दोस्रो अल्फाविटा ओपन बास्केटबल प्रतियोगिताको आज बुधवार भएको खेलबाट युवा जागृति, यलम्वर र झापा सेमिफाइनल प्रवेश गरेको छ ।

आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आज भएको पहिलो क्वाटर फाइनल खेलमा युवा जागृतिले डिपो स्कुललाई ३७-२४, यलम्वरले मिराकललाई ५२-४६ र झापाले होलिल्याण्डलाई ५०-३५ अङ्कले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

इमोर्टल क्लव सोमवारको खेलबाट नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

डिपो विरुद्ध सहज जित निकालेका युवा जागृति र डिपो स्कुलको प्रत्येक क्वाटरमा १५-६, ७-४, ७-९ र ८-५ जोडेका थिए । प्रतिस्पर्धात्मक भएको दोस्रो क्वाटर फाइनलमा यलम्वर र मिराकलले प्रत्येक क्वाटरमा ९-१६, १२-९, १५-१३ र १६-८ अङ्क जोडे ।

यसैगरी अन्तिम क्वाटर फाइनल खेलमा झापा र होलिल्याण्डले १२-६, ११-६, १३-११ र १४-९ अङ्क जोडेका थिए ।

बिहीबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल महिला तर्फ आइएसए नेपाल काठमाडौँ विरुद्ध इमोर्टल क्लव धरान र दोस्रो सेमिफाइनल खेल धरान मेघा कलेज विरुद्ध रेड डेभिल्स बिच प्रतिस्पर्धा हुनेछ ।

पुरुष तर्फको पहिलो सेमिफाइनल खेल इमोर्टल विरुद्ध युवा जागृति र यलम्वर विरुद्ध झापा बास्केटबल सङ्घ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका खेलहरू धरान-१६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा भइरहेको छ । खेल ज्येष्ठ ४ गते सम्म चल्ने छ ।