धरान : दोस्रो अल्फाविटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिताको आज मङ्गलवार भएको पुरुष तर्फको खेलमा इमोर्टल क्लब सेमिफाइनल प्रवेश गरेको छ । ईमार्टल नै पुरुष तर्फको सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली हो ।

इमोर्टल र व्रदर्स बिचको खेल रोचक प्रतिस्पर्धापूर्ण थियो । इमोर्टलले ५९-५५ अङ्कको अन्तरले व्रदर्शलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हो । खेलमा इमोर्टल र व्रदर्सले प्रत्येक क्वाटरमा ११-१३, १२-१७, १७-११ र १९-१२ अङ्क जोडेका थिए ।

यसैगरि अन्य खेलमा डिपो क्याम्पस, मिराकल र यलम्वर जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेका छन् । मङ्गलवार भएको खेलमा डिपोले युनाइटेड गोर्खालाई २९-२१, मिराकलले धरान-१३ लाई ४९-१६ र यलम्वरले होराइजनलाई ५१-४७ अङ्कको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका हुन ।

खेलमा डिपो र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा ११-४, ४-४,३-४ र ११-६ अङ्क जोडेका थिए । दोस्रो खेलमा सहज जित निकालेका मिराकल र धरान १३ ले प्रत्येक क्वाटरमा ११-२, १०-६, १२-७ र १६-४ जोडे । यसै गरी प्रतिस्पर्धात्मक भएको तोस्रो खेलमा यलम्वर र होराइजनले प्रत्येक क्वाटरमा १८-१५, १४-१४, ९-९ र १०-९ अङ्क जोडेका थिए ।

बुधवार हुने क्वाटर फाइनल खेलमा डिपोले युवा जागृति, यलम्वरले मिराकल र झापाले होलिल्याण्ड सँग प्रतिस्पर्धा गर्नेछ ।

महिला तर्फ सेमिफाइनल खेलको समीकरण यस अघि नै पुरा भइसकेको छ । महिला तर्फ धरान मेघा र रेड डेभिल्स र आइएसए नेपाल काठमाडौँ र इमोर्टल बिच फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल ज्येष्ठ ३ गते हुनेछ ।

प्रतियोगिताको धरान-१६ स्थित धरान रङ्गशालाको इन्डोर बास्केटबल कोर्टमा चलिरहेको छ । प्रतियोगिता ज्येष्ठ ४ गते सम्म चल्नेछ ।