धरान : धरान-१४ दुई धारे दक्षिणतर्फ रहेको नरसिंह मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान-६ पानबारीको ७ कट्ठा ११ धुर जग्गा व्यक्तिको नाममा दर्ता गर्न तत्कालीन पाँचकन्या गाउँ पञ्चायतका प्रधानपञ्च पदम कार्कीको योजनामा नक्कली जग्गाधनी लालबहादुर मगरलाई बनाइएको उनैको भनाईले पुष्टि गरेको छ ।

आज बिहीबार बिहान सञ्चारकर्मीहरू समेत उपस्थित धरान ६ को वडा कार्यालयमा भएको छलफलमा पूर्व प्रधानपञ्च कार्कीले भने ‘झुटो सर्जिमन गरेको हुँ, व्यवहारिक रूपमा हेर्दा मन्दिर जग्गाधनी हो, मन्दिरले कुत बुझेको साँचो हो, तर मन्दिरसँग यथेष्ट प्रमाण नभएको थाहा पाएपछि मालपोत र नापी कार्यालयमा प्रक्रिया सुरु गरिएको हो ।’

वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराईले बोलाएको छलफलमा नक्कली जग्गाधनी बनाइएका लालबहादुर सहित पूर्व प्रधानपञ्च कार्की पनि उपस्थित थिए । कार्की तत्कालीन पाँचकन्या गाउँ पञ्चायतका २०३९ साल देखि २०४३ सम्म उपप्रधानपञ्च र २०४३ देखि २०४६ सम्म प्रधानपञ्च थिए । उनी मन्दिरको जग्गा छेउकै छिमेकी समेत हुन ।

तत्कालीन प्रधानपञ्च कार्कीले भने ‘लाल बहादुरसँग प्रमाण भएकाले, छुटमा निवेदन दर्ता गराउन आफैले लगाएको हुँ ।’ उनले सञ्चारकर्मीसँग भने रसिद नै सबै प्रमाण होइन, कुत बुझाएको रसिद नै प्रमाण हुने भए नापी र मालपोतको के काम ?

उनका अनुसार मन्दिरसँग यथेष्ट डकुमेन्ट छैन, प्रमाण बेगर मन्दिरले हाम्रो जग्गा भन्न मिल्ने हामीले जोतभोग गरेको छ भन्न नमिल्ने ? यो दुनियाँमा जोतभोग नै नगरेको मान्छेले किर्ते कागज बनाई २० वर्षपछि जोतभोग गरेको भनी सर्जिमिन गरेर खाएको थुप्रै प्रमाण छ, भन्दै उनले भने ‘हामीले गर्न नमिल्ने त्यस्तो नि हुन्छ ?’

उनले हाल लालबहादुरले जोतभोग गरेका छैनन्, तर नापीमा जोतभोग लालबहादुरले गरेको हो भनी सर्जिमिन गरेको र गर्न लगाएको साँचो भएको बताए । मन्दिर व्यवस्थापन समिति अध्यक्ष टोमप्रसाद आर्चायसँग कुत भरेको प्रमाण मात्र थियो । निर्वतमान ६ नम्बर वडा अध्यक्ष भुवन बस्नेतको पालामा मन्दिरकै जग्गा भएको भनी अडान लिएर उनले सिफारिसको काम रोकेका समेत उनले बताए ।

तर हाल ६ महिना अगाडी छुट फारम खुल्ला भएपछि मालपोत हाकिमसँग भेट गर्न जाँदा मालपोत हाकिमले ‘प्रक्रिया पुरा नगरी हचुवाको तालमा निवेदन आए जग्गा सरकारी हुन्छ भनेको उल्लेख गर्दै कार्कीले भने ‘,प्रमाण छैन कोहीसँग अव सरकारी जग्गा हुने भो सरकारले बोर्ड टास्न सक्छ भन्ने डरले छुटमा दर्ता प्रक्रियामा नक्कली जग्गा धनी लालबहादुर प्रक्रिया सुरु गरिएको बताए ।

मालपोत हाकिमले फिल्ड बुकमा कित्ता नम्बर १२४ मा लालबहादुरको ३ पुस्ते क्लियर छ भनेपछि आफूले लालबहादुर र उनका छोरालाई यत्तिको प्रमाण पुग्छ भनी प्रक्रिया अगाडी बढाउन लगाएको उनले बताए ।

कार्कीले जोतभोगको कुरा जटिल हुँदैन, जोतभोगको आधारमा प्रमाणित नहुने बताउँदै १० औँ वर्ष देखि मन्दिरको जग्गा हो भनी दर्ता प्रक्रियामा धेरै लागेको हो र प्रमाणित गर्न पनि सुरु गरेकोमा लालबहादुरले प्रमाण सहितको कागज ल्याएपछि लालबहादुरको पक्षमा लागेको बताए ।

पूर्व प्रधानपञ्च कार्कीले जग्गा आफ्नै एरियामा रहेको मन्दिरको जग्गा छिमेकीको भएता पनि कसले जोतभोग गर्दैछ त्यो भने थाहा नभएको बताउँदै भने ‘तर जग्गामा भक्तबहादुर राईले घर बनाई जग्गा कमाई रहेका छन् ।’

सिफारिस रोकेका छौँ : वडाध्यक्ष भट्टराई 

धरान वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराईले नरसिंह मन्दिरको ७ कट्ठा ११ धुर जग्गा लालबहादुरको नभई सार्वजनिक मन्दिरको जग्गा भएको सूचना प्राप्त भएको बचाउँदै वडा कार्यालयले सत्य तथ्य सूचना ब्यहोरा बुझ्नु पर्ने भएकाले अर्को सिफारिस पत्र प्राप्त नभए सम्म कारबाही प्रक्रिया अगाडी नबढाई स्थगित गर्नु भनी जेठ २ गते मालपोत कार्यालय धरानलाई सिफारिस गरेको बताए ।

उनले पत्रकारहरूलाई मन्दिरको जग्गा थाहा नभएकाले सिफारिस भएको तर थाहा पाएपछि तुरुन्त रोकेको बताए । प्रमाण र तिन पुस्ते विवरण ल्याई आफ्नो हो भनी जग्गाको पूर्व प्रधानपञ्च र भद्र भलादमीले र छिमेकीले समेत सर्जिमिन गरेकाले होला भनी सिफारिस गरेकोमा अव सत्य तथ्य बुझेर मात्र अगाडी बढ्ने बताउँदै भने ‘अब मन्दिरको जग्गा प्राप्तिका लागि अगाडी बढ्ने छु ।’

यसअघि वडा अध्यक्ष भट्टराईले नक्कली जग्गा धनी लालबहादुर मगरलाई २०८० साल चैत १५ गते २०२७ सालको नापी हुँदाका बखत फिल्डबुकमा जग्गा धनी लालबहादुर थापा मगर नाम उल्लेखित भएको भन्दै स्थलगत सर्जिमिन मुचुल्का गरी मालपोत कार्यालय जग्गा दर्ता गर्न सिफारिस गरेका थिए ।

२०८० चैत्र १६ गते दुई नाम थर भएका लालबहादुर एकै हुन भनी फिल्ड बुकमा लाल बहादुर मात्र भएको हुनुपर्ने लाल बहादुर थापा मगर भनी प्रमाणित गर्दै सिफारिस समेत गरेका थिए ।