धरान : दोस्रो अल्फाविटा ओपन बास्केटबल प्रतियोगिताको आज बिहीबार भएको खेलबाट महिला तर्फ धरान मेघा कलेज र आइएसए नेपाल काठमाडौँ र पुरुष तर्फ यलम्वर क्लब र इमोर्टल क्लब फाइनलमा भिड्ने पक्का भएको छ ।

महिला तर्फको सेमिफाइनल खेलमा आइएसए नेपालले इमोर्टल क्लब धरानलाई ३९-२७ र धरान मेघाले रेड डेभिल्सलाई ३६-९ अङ्कको फराकिलो अन्तरले पराजित गदै फाइनलमा स्थान पक्का गरेको हो ।

महिला तर्फको पहिलो सेमिफाइनल खेलमा आइएसए नेपाल र इमोर्टल क्लबले प्रत्येक क्वाटरमा ९-५, १०-७, १०-८ र १०-७ अङ्क जोडेको थियो । दोस्रो सेमिफाइनल खेलमा सहज जित निकालेका धरान मेघा कलेज र रेड डेभिल्सले प्रत्येक क्वाटरमा ११-४, ६-३, ८-० र ११-२ अङ्क जोडेको थियो ।

यसैगरी पुरुष तर्फको सेमिफाइनल खेलमा इमोर्टल क्लबले युवा जागृति क्लबलाई ६७-३५ र यलम्वर क्लबले जेविए झापालाई ७५-३१ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । दुवै टिमले सहज जित निकालेका इमोर्टल र युवा जागृतिले प्रत्येक क्वाटरमा १८-५, १६-८, १७-८ र १६-१४ जोडे । दोस्रो सेमिफाइनल खेलमा यलम्वर र जेविए झापाले प्रत्येक क्वाटरमा १५-६, १५-११, २२-६ र २३-८ अङ्क जोडेका थियो ।

उपाधिका लागि पहिलो फाइनल खेल महिला तर्फ भोली शुक्रवार धरान मेघा कलेज विरुद्ध आइएसए नेपाल काठमाडौँ र पुरुष तर्फ यलम्वर क्लब विरुद्ध इमोर्टल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

व्यक्तिगत विधा तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि तेस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेता महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा चलिरहेको छ ।