इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन् ।  ७ मन्त्री र २ राज्यमन्त्री सहित शुक्रवार सरकार बिस्तार गरेका हुन् ।

उद्योग कृषि तथा सहकारी मन्त्रालय आफै राखेर बाकी मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । नेकपा एकीकृत समाजवादी पनि सरकारमा आए उद्योग मन्त्रालय दिने मुख्यमन्त्रीको योजना छ ।

नयाँ मन्त्रीमण्डलको आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी नियुक्त भएका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरलाई नियुक्त गरेका कार्कीले दुई राज्यमन्त्रीलाई समेत जिम्मेवारी प्रदान गरेका हुन् । 

सिर्जना राई मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्री बनाइएको छ भने वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नयाँ मन्त्रीहरूलाई शुक्रवार साँझ ६ बजे शपथग्रहण गराउने गरी प्रदेश प्रमुख कार्यालयले तयारी गरिरहेको छ ।