धरान : विष्णुपादुका स्थित कोकाहा खोलाको मुहानबाट दोस्रो पटक पानी ल्याउने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियान विवादास्पद बनेको छ । 

कोकोहाबाट पहिले नै पानी ल्याउँदा परिमाण घटेर स्थानियबासीहरूलाई नै खानेपानीको अभाव भइरहेको बेला दोस्रो पाइपबाट पनि पानी लैजाने कार्यप्रति स्थानीय प्राकृतिक श्रोत साधन संरक्षण समितिले आपत्ति जनाएको हो ।

मेयर साम्पाङलाई त्यहाँ पाइप लगाउनु अघि स्थानीय बासिन्दालाई पानीको ग्यारेन्टी गर्न माग गर्दा गैरजिम्मेवार व्यवहार गरिएकोको जनाउँदै समितिद्वारा शुक्रवार प्रकाशित वक्तव्यमा धरान २० बिष्णुपादुकाबासीले मेयर साम्पाङको काम गैरजिम्मेवार भएको उल्लेख गरेका छन् ।

शुक्रवार प्राकृतिक स्रोत साधन संरक्षण समितिका अध्यक्ष पदम लिम्बू र सचिव जीवन राईद्वारा हस्ताक्षर गर्दै मेयर साम्पाङले समुदायमाथि साम्प्रदायिक दङ्ग भड्काउने अनैतिक क्रियाकलाप गर्दै गैरजिम्मेवार काम गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेका हुन ।

वक्तव्यमा ‘स्थानीय जनतालाई पाखे, गाउँले आदि शब्दबाट निरीह बनाएको र सामाजिक सद्भाव भड्काउने विभिन्न जातजाति मिलेर बसेको समुदायमाथि साम्प्रदायिक दङ्ग भड्काउने अनैतिक क्रियाकलाप भएकोले हाललाई सरोकारवालासँग समन्वय र सम्झौता नभईकन भएको आफूखुसी श्रमदान गरी पाइप लाइन जडान गरेकोमा घोर भर्त्सना गर्दै’ कोकाहा २ मा भएका सम्पूर्ण कार्यहरू स्थगित गर्न माग माग गरिएको छ ।

तत्काल पाइप बिछाउने काम नरोके भैपरि आउने  कुनै पनि घटना घटेमा स्वयम् मेयर साम्पाङले जिम्मेवारी लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा वडा २० का वडाध्यक्षको रोहवरमा सरोकारवाला स्थानीयबासी विभिन्न संघसंस्थाहरुको भेलाले कोकाहाबाट पानी लानु अघि सरोकारवाला स्थानीयबासीको लागि खानेपानीको वैकल्पिक व्यवस्थाको माग गर्ने निर्णय गरेको थियो ।

धरान-२० को प्राकृतिक स्रोतका विभिन्न क्षेत्रबाट अन्यत्र खानेपानी निष्कासन भएकोले वडाको स्वारा बासीलाई लिफ्टीङ गरी खाएको पानीमा समेत मुहानमा खानेपानी अभाव भएको उल्लेख गरिएको छ । उनीहरूले लिफ्टिङको लागि मासिक ९०० देखि १५०० तिर्न परेको छ ।

तैपनि पर्याप्त मात्रामा पानी भोग गर्न नपाएको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थामा  विष्णुपादुकाबाट ६० हजार लिटर खानेपानी गइरहेकोमा पनि धरान-२० का कुनै बाधा अवरोध नगरेको तर विकल्पको कुरा गर्दा गैर जिम्मेवार कार्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बहुभाषिक, बहुजातिय, बहुभेषभुषा, आदिवासी जनजाति समुदाय मिलेर बसेको सहरमा धरान नगर प्रमुख साम्पाङको क्रियाकलापले सामाजिक र साम्प्रदायिक द्धन्द फैलाउन खोजेको उल्लेख छ ।

स्थानीय स्रोत साधनको हकदार स्थानीयबासीले जायज माग गर्दा मेयर साम्पाङले युट्युब, फेसबुकभरि फेक आइडी बनाउँदै मनपरी गाली गलौच गरी व्यक्तिको चरित्र हत्या गरेको आरोप वक्तव्यमा लगाइएको छ ।

dharan-20-PR