धरान : दोस्रो अल्फाविटा ओपन बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ आइएसए नेपाल काठमाडौँ र पुरुष तर्फ इमोर्टल क्लबले चुमेको छ ।

धरान रङ्गशालाको इन्डोर बास्केटवल कोर्टमा शुक्रवार भएको फाइनल खेलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९-३१ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

पहिलो क्वाटरमा ५-५ बराबर अङ्क जोडेका आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११-१३ अङ्क जोड्दै पहिलो हाफमा मेघा कलेज १८-१६ अङ्कले अग्रता लिएका थिए ।

दोस्रो हाफको खेल सुरु भएपछि आइएस नेपालले आफ्नो खेललाई सुधार्दै तेस्रो क्वाटरमा १२-४ र चौथो क्वाटरमा ११-९ अङ्कको अग्रता बनाउँदै उपाधि चुम्न सफल भए ।

आइएसए नेपालले उपाधि सँगै नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता टिमकी सन्ध्या डङ्गोल प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरस्कार एमभिपि उपाधि विजेता घोषित भइन् । उनले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरिन् गरे । डङ्गोलले फाइनल खेलमा व्यक्तिगत २१ अङ्क जोडेका थिए ।

उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

पुरुष तर्फ इमोर्टल क्लबले यलम्वर क्लबलाई ७५-५६ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । सहज जित निकाल्न सफल इमोर्टलले प्रत्येक क्वाटरमा यलम्वर विरुद्ध १५-१२, २१-११, २१-१५ र अन्तिम क्वाटरमा १८-१८ अङ्क जोडेको थियो ।

इमोर्टलले उपाधि सँगै नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । इमोर्टलवाट उत्कृष्ट प्रदर्शन गरेका अभिषेक डङ्गोल प्रतियोगिताका उत्कृष्ट खेलाडी उपाधि विजेता घोषित भए ।

उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उपविजेता वनेको यलम्वरले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको राइजिङ्ग प्लेयर महिला तर्फ इमोर्टल क्लबका सुनिता राई र पुरुष तर्फ सविन राई घोषित भइन् । सुनिता राईले नगद २ हजार ५ सय, र सविन राईले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगिता धरान बास्केटवल सङ्घको आयोजना तथा धरान बास्केटवल सङ्घको संयोजनमा सञ्चालन भएको हो । प्रतियोगितालाई प्राविधिक सहयोग सुनसरी बास्केटवल सङ्घको गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल अघि भएको तेस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसनको उपाधि महिला तर्फ धरान मेघा कलेजका शीतल तामाङ्ग र पुरुष तर्फ यलम्वर क्लबका दिवस राईले जिते । उनीहरूले जनही नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई समापनका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले ट्रफि मेडल पुरस्कार प्रदान गरेका थिए ।

धरान बास्केटवल सङ्घका अध्यक्ष सुरजकुमार लामाको सभापतित्वमा भएको समापनमा सुनसरी बास्केटबलका अध्यक्ष नारायण सुवेदी, प्रायोजक अल्फाविटा कन्सल्टेन्सी डाइरेक्टर सन्जिव वान्तावा उपाध्यक्ष विवेक राई, एकीकृत समाजवादीका अध्यक्ष रेवतिरमण राई लगायतले विजेताहरूलाई बधाई ज्ञापन गरे ।