धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान २० बिष्णुपादुकाका जनतासँग लिखित रूपमा माफी मागेका छन् । 

मेयर साम्पाङ शनिवार कोकाहमा दोस्रो पाइप बिस्तार गर्न श्रमदाता समूहसँग ज्यामिरे पुगेका थिए । दोस्रो पाइपबाट पानी लैजाँदा स्थानीयलाई पानीको सङ्कट हुने भनी असन्तुष्ट जनता त्यहाँ जम्मा भएका थिए ।

पाइप विस्तारको काम गर्न नहुने स्थानियबासी र मेयर साम्पाङसंग गएका श्रमदाताहरू बिच विवाद बढेर हात हालाहालमा ८ जना श्रमदाता सामान्य घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थिति तनावपूर्ण बनेपछि मेयर साम्पाङले स्थानीय जनताको माग पुरा गर्ने भनी लिखित सहमति जनाएका छन् । यसै क्रममा मेयर साम्पाङले ‘फेसबुकमा चरित्रहत्या हुने गरी कसैले स्ट्याटस नलेख्ने’ भनी आफै फेसबुकमा लेख्ने’ भन्दै माफी समेत मागेका हुन ।

गत बुधवार विष्णुपादुकाबासी मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाउन डेलिगेसन आएका थिए । त्यसै बेला मेयर साम्पाङ डेलिगेसनका सहभागीहरूको मानमर्दन हुने गरी बोलेका कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही विषय आज शनिवार विष्णुपादुकाबासीले उठाएका थिए ।

स्थानीयको माग बमोजिम मेयर साम्पाङले स्वारा क्षेत्रमा पानी व्यवस्थापन गर्न कोकाहबाट पम्प मार्फत लिफ्ट गरेर रिजर्भ ट्याङ्कसम्म पानी पुर्‍याउने लिखित सहमति गरेका हुन ।

साथै आगामी आर्थिक वर्षको बजेटमा वडा २० लाई प्राथमिकतामा राखेर ५ करोड बजेट विनियोजनको लागी पहल गर्ने पनि मेयर साम्पाङले लिखित सहमति गरेका छन् ।  

मेयर साम्पाङले लिखित सहमति र प्रतिवदता जनाए पछि कोकाहमा दोस्रो पाइपको लागि श्रमदान सुचारु गर्न स्थानीयले सहमति जनाएका थिए ।

सहमति पत्रमा मेयर साम्पाङ, वडा २० का अध्यक्ष पदम लिम्बु, पूर्व अध्यक्ष मणिराम राई, वडा सदस्य देवेन्द्र राई, स्थानीय अगुवाहरू सम्फर तामाङ, विजय तामाङ, कर्ण तामाङ, रामबहादुर राई, रमा बिक, श्रमदाता रामबहादुर राई, सुमन श्रेष्ठ, श्रीप्रसाद राई, इलाका प्रहरी कार्यालय धरानका डिएसपी मान बहादुर राई, नगर प्रहरी प्रमुख विष्णु कोइराला लगायतले हस्ताक्षर गरेका छन् ।

सहमतिमा हस्ताक्षर गरेपछि मेयर साम्पाङले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । स्वारा बासीलाई पानी लिफ्टीङ मागको लागी बिहीबार नै खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले सर्वे गरेका छन् । 

वार्ता र सहमति अघि झडप

धरान-२० ज्यामिरे पुगेका श्रमदाता र असन्तुष्ट स्थानीय वाद विवाद बढेर झडप भएको थियो । त्यसै क्रममा श्रमदाताहरू घाइते भएका हुन ।

मागहरूबारे वार्ता हुन नपाउँदै झडप भएपछि स्थिति केही बेर तनावग्रस्त बनेको बन्यो । इलाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राई आफैँ पनि ज्यामिरे पुगेका थिए ।

सशस्त्र प्रहरी, नगर प्रहरी टोली पनि परिचालन भएको थियो । स्थित नियन्त्रणमा आएपछि मेयर साम्पाङ र वडाका जनप्रतिनिधि, स्थानीयका प्रतिनिधिबिच वार्ता भएको हो ।

एक घण्टाबढी भएको वार्तामा स्थानीयले सामाजिक सञ्जालमा विकासको योजना लिएर जाने महिलाको चरित्र हत्या गरेको विषयलाई प्राथमिकताको साथ उठाएका थिए ।

कोकाह मुहानमा स्थानीयलाई थाहा नदिई पाइप बिस्तार गरेको भन्दै २० नम्बर वडावासी बिच वैशाख २९ गते शनिवार मेयर साम्पाङ र स्थानीय बिच भनाभन भएको थियो । त्यसपछि स्थानीय बिष्णुपादुका बासीलाई पानीको ग्यारेन्टी गर्न माग गर्दे मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण बुझाउन जाँदा वडाध्यक्ष र महिला र स्थानीय युवाहरूसँग भिडियो र फोटो बनाई चरित्रहत्या हुने गरी मेयर साम्पाङका समर्थकहरूले भाइरल बनाएका थिए ।

त्यसको विरोधमा समुदायमाथि साम्प्रदायिक दङ्ग भड्काउने अनैतिक क्रियाकलाप गर्दै गैर जिम्मेवार काम गरेको भन्दै  बिष्णुपादुका बासीले शुक्रवार विज्ञप्ति प्रकाशित गरिएको थियो ।

मेयर साम्पाङले समर्थकहरूलाई सार्वजनिक रूपमा विज्ञप्ति मार्फत त्यस्तो कार्य नगर्न आग्रह गर्दै फेसबुकमा अनुरोध गर्ने भएका छन्।