धरान : इरानका राष्ट्रपति इब्राहिम रइसी साथै विदेश मन्त्री हुसेन आमीर अव्दुल्लाहियन सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको छ । हेलिकप्टरमा इरानका पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमती सहित अन्य अधिकारीहरू पनि रहेको बीबीसीले समाचार दिएको छ ।

इरानको सरकारी मिडियाका अनुसार उडानको क्रममा हेलिकप्टरले कठिनाइको सामना गर्नु परेपछि ‘हार्ड ल्याण्डिङ’ गराउँदा दुर्घटना भएको बताइएको छ । उक्त हेलिकप्टर सँगै अन्य २ हेलिकप्टर पनि उडिरहेको थियो ।

इरानका गृहमन्त्रीले उद्धार दल घटनास्थल सम्म पुग्ने प्रयासमा रहेको जनाएका छन् । खराब मौसमका कारण घटनास्थल सम्म पुग्न कठिनाइ भइरहेको उनको भनाई छ ।

घट्नाको सूचना प्राप्त भए लगत्तै घटनास्थल क्षेत्रमा कुल ४० वटा उद्धार दल तैनाथ गरिएको छ । उद्धार दलहरूलाई आपातकालिन ड्रोन युनिटले पनि सहयोग गरिरहेका छन् ।

इरानको आपातकालिन सेवाका अनुसार घटनास्थल तर्फ ८ एम्बुलेन्स रवाना गरिएको छ । तर खराब मौसमका कारण उद्धार दलले कठिनाइको सामना गर्नु परिरहेको जनाइएको छ ।

स्थानीय मिडियाका अनुसार राष्ट्रपति रइसी अजरबैजान स्थित किज कलासी र खोदाफरिन बाध उद्घाटन गरेर तबरेज सहर तिर आउँदा हेलिकप्टर दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।