धरान : पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीले अशोक राईको नेतृत्वमा जसपा नेपालमा भएको विभाजन सत्ता लागि भएको बताउँदै राईले पहिचानको नाम उच्चारण समेत नगरेको आरोप लगाएका छन् ।

उपेन्द्र यादवको जसपा नेपालको लिम्बुवान राष्ट्रिय समिति पहिचानवादी मोर्चामा सामेल भएको घोषणा गर्न सोमवार धरानमा आयोजित पत्रकार सम्मेलन उनले उक्त कुरा बताएका हुन् ।

जसपा नेपाल विभाजित भएसँगै पहिचानवादी मोर्चाको नाममा तेस्रो समूह उदय भएको भएको हा । वैशाख २३ गते महेन्द्र लावती संयोजक रहेको मोर्चा घोषणा भएको थियो । यसअघि लावती सङ्घीय लिम्बुवानबाट जसपा नेपालमा सामेल भएका थिए ।

उपेन्द्र यादवबाट अलग्गिएर अशोक राईले छुट्टै जसपा पार्टी बनाएपछि जसपा नेपाल निकट नेपाल लिम्बुवान राष्ट्रिय समिति दुवै समूहलाई छोडेर पहिचानवादी मोर्चामा आबद्ध भएको घोषण गरिएको हो । उपेन्द्र-अशोकको विभाजनलाई अहिले सर्वोच्चले स्थगनको अवस्थामा राखेको छ ।

लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले पत्रकार सम्मेलनमा लिम्बुवान पहिचानवादी मोर्चा प्रदेश समितिमा सामेल भएको घोषणा गरेका हुन ।

संयोजक लावती र सदस्य केदार धिमालद्वारा जारी विज्ञप्तिमा मोर्चाले पहिचान पक्षधरहरूलाई एकताबद्ध गर्दे निकट भविष्यमै पहिचानवादी राजनैतिक पार्टी निर्माण गर्ने जनाएको छ ।

इलाम उपनिर्वाचनको मोडेलमा कोशी नाम खारेजी संयुक्त सङ्घर्ष समितिसँग सहकार्य गर्दे २०८४ को चुनावमा सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

मोर्चाले स्वायत्त क्षेत्र, जिल्ला, पालिका, वार्ड र टोलबस्ती समितिहरू गठन गर्दै विदेशका पहिचानवादीहरूलाई मोर्चामा आउन आव्हान गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा संयोजक महेन्द्र लावतीले मोर्चा नेताको वरिपरि नघुम्ने, एउटै नेतामा शक्ति नहुने बताए । उनले भने ‘एक पटक  अध्यक्ष  भएको व्यक्ति पुन अध्यक्ष हुन नपाउने र राष्ट्रिय पार्टी भए पश्चात् अध्यक्ष मन्त्रीमण्डलमा समेत जान नपाउने व्यवस्था गरिने छ।’

नेपाल बहु जातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ ।

लावतीले राई नेतृत्वमा जसपा नेपालमा भएको विभाजन सत्ताको खेलका कारण विभाजित भएको बताए । राईले पहिचानको नाम उच्चारण समेत नगरेको उनको भनाई छ ।