धरान : जनता समाजवादी पार्टीको संसदीय दलको नेताको निर्वाचनको निर्धारित मिति अगावै रामसहाय यादवलाई सर्वसम्मत घोषित गरिएको छ । यसबाट पार्टीका नेता सङ्घीय परिषद्का अध्यक्ष अशोक राई असन्तुष्ट बनेका छन् । 
पार्टीले संसदीय दलको नेता चयनका लागि बुधवार निर्वाचन गर्ने मिति तय गरेको थियो । तर त्यसको एक दिन अगावै पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्णय अनुसार यादवलाई संसदीय दलको नेता बनाइएको हो । यसबाट जसपामा अध्यक्ष यादवको एकल दबदबा कायम रहने देखिएको छ ।  
जसपामा संसदीय दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकाङ्क्षी थिए । अध्यक्ष यादवले उनको विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएपछि विवाद उत्पन्न भएको छ । पार्टीको कुल १२ सांसद छन्। । त्यसमा पाँच नेता राईको पक्षमा खुलेका थिए। अध्यक्ष उपेन्द्र यादवको पक्षमा ७ जना रहेको विश्वास गरिएको थियो ।
संसदीय दलका नेताको निर्वाचन भएमा नेता राई आउने निश्चित मानिएको थियो । अध्यक्ष यादव चुनावमा हारेपछि सङ्घीय परिषद्का अध्यक्ष रहेका राई स्वाभाविक रूपमा अशोक राई संसदीय दलको नेता बन्ने अनुमान गरिएको थियो । नेता राई सरकारमा पार्टीको नेतृत्व गर्न पनि इच्छुक थिए ।