इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताल सुधारलाई आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा राख्दै आएको छ । इटहरी अस्पतालको स्तरोन्नति र स्वास्थ्योपचार सुलभ भएको उपमहानगरको दाबी छ ।

भौतिक पूर्वाधार र उपचार सेवामा विस्तार गरेको उपमहानगरले उपकरणमा समेत जोड दिएको छ । सोही अनुसार सिटी स्क्यान मेसिन र युएसजी मेसिन अडानको लागि खरिद प्रक्रिया अगाडी बढाएको हो । २१ लाख धरौटी राख्नुपर्ने सर्तमा सिटी स्क्यान मेसिन र एक लाख ५० हजार धरौटी राख्नुपर्ने सर्तमा युएसजी मेसिन खरिद गर्न लागेको छ ।

सिटी स्क्यान मेसिनको बजार मूल्य ७ करोड माथि पर्ने काठमाडौँका एक सप्लायर्स सञ्चालकले बताए । ‘मेसिनको गुणस्तरको आधारमा मूल्य निर्धारण हुन्छ । तर सात करोड देखी माथिका मेसिन पाइन्छ । २१ लाख धरौटी राखेको आधारमा ८ करोड आसपास मुल्य पर्ने मेसिन खरिद गर्न लागेको हुनुपर्छ,’ उनले भने, ‘युएसजी मेसिनको हकमा राम्रो मेसिनलाई २५ लाख देखि एक करोड सम्म पर्छ । त्यसको पनि गुणस्तर लगायत स्पेशिफिकेसन हेरेर मात्र यकिन मुल्य भन्न सकिन्छ ।’

जेठ ७ गते टेन्डर आह्वान गरेको उपमहानगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपकरण जडान गर्न लागेको बताएको छ । स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीका अनुसार मेसिन सञ्चालनको लागि आवश्यक जनशक्ति  समेत तयार भइसकेको हुँदा सेवाग्राहीलाई थप सुविधा दिन सिटी स्क्यान मेसिन र युएसजी मेसिन गर्न लागिएको हो ।

उता इटहरी अस्पतालमा एक वर्षदेखि डायलिसिस मेसिन थन्किएर बसेका छन् । रोटरी क्लब अफ इटहरीले ६७ लाख बराबरका ३ वटा मेसिन जडान गरिदिएको हो । लामो समयको प्रयास पछि जडान भएको मेसिन प्रयोग विहीन भएका छन् ।

सुरुवातमा प्राविधिक जनशक्तिको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहयोग लिने मौखिक सम्झौता भएपनि कार्यान्वयन भने भएन ।

शाखा प्रमुख चौधरी डायलिसिस मेसिन हचुवाको भरमा सञ्चालन नहुने बताउँछन् । डायलिसिसको लागि आइसियु र ब्लड बैङ्क पनि अनिवार्य हुनुपर्ने भएकाले हालको दरबन्दीमा रहेका जनशक्तिले यो सबै सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

अस्पताल सञ्चालन कार्यविधिमा २५ बेड भन्दा माथिका अस्पतालमा मात्र डायलिसिस मेसिन जडान हुने व्यवस्था भएको उनले बताए । कानुनी अड्चन र जनशक्ति अभावले दाताले दिएको मेसिन थन्किएको उनले प्रस्ट पारे ।