इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालमा डायलाइसिस सेवा सुरु गर्ने भएको छ । आइतबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रम मार्फत आइसियु, भेन्टिलेटर सहित डायलिसिस सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

मिर्गौला रोगी बिरामीहरूको सङ्ख्या बढ्दै गएपछि डायलाइसिस सेवा सुरु गर्न लागिएको हो । इटहरी अस्पतालमा रोटरी क्लब अफ इटहरीले डायलिसिस उपकरण प्रदान गरिसकेको छ । सञ्चालनको लागि आवश्यक जनशक्तिको रूपमा धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भइसकेको छ ।

इटहरी उपमहानगरपालिकाले सबै वडामा योग ध्यान केन्द्रहरू निर्माण गरी सञ्चालन गर्ने नीति अवलम्बन गर्ने भएको छ । स्वस्थ इटहरी कार्यक्रम अन्तर्गत इटहरीवासीहरूलाई निःशुल्क सेवा उपलब्ध गराउनका लागि दुई वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइनेछ यसको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, गरिब विपन्नहरूलाई इटहरी अस्पतालमा उपचार गराएमा औषधी उपचारमा भएको खर्चको ५० प्रतिशत छुट हुने भएको छ । इटहरी अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी शल्यक्रिया सहितको सुत्केरी सेवा, हेमोडाइलाइसिस सेवा, जनरल शल्यक्रिया सेवा सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

गरिब, अति गरिब, पिछडिएका वर्ग, एकल महिला तथा ज्येष्ठ नागरिकहरू र महिला स्वास्थ्य स्वयं सेविकाहरूको स्वास्थ्य बिमा निःशुल्क गर्ने भएको छ । एकम्वा स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला सेवा सञ्चालन गर्ने कार्यक्रममा समावेश गरिएको छ ।