विराटनगर : महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरमा अहिले सम्म विराटनगरका ५ हजारभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

महानगरपालिकाले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य परीक्षण गराएको एकीकृत शिविरको समापनमा स्वास्थ्य महाशाखा संयोजक डा. दिलीप यादवले बताएका हुन ।

शिविरमा फिजिसियनतर्फ २ हजार ३२१ जना, हाडजोर्नी ८६१, स्त्री तथा प्रसूति ६७३ जना, बालरोग ६४६ जना, मुख तथा दाँतका रोगी २५१ जना र छाला तथा यौन रोगको ४३६ जनाले परीक्षण गराएका हुन ।

ल्याब परीक्षणमा भिडियो एक्स-रे १ हजार ३७२, इसीजी ६५६ जनाले गराए । पाठेघरको जाँच ५७० जना, अन्य जाँचको ल्याब सेवा लिनेको सङ्ख्या १ हजार २५२ जना रहेको बताइएको छ ।

शिविरमा आएका मध्ये १९६ जना शङ्कास्पद क्षयरोगीहरूको खकार सङ्कलन गरी परीक्षण गरिएको छ । त्यस मध्ये एक जनामा बहुऔषधि प्रतिरोधी क्षयरोगी पहिचान भएको छ ।

विराटनगरलाई मोतियाबिन्दु मुक्त महानगर बनाउन आँखा जाँचका लागि ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँग सहकार्य गरी निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

शिविरमा सबैभन्दा बढी वडा १९ मा ४२२ जनाले सेवा लिएका छन् । सबैभन्दा कम वडा १० मा ११८ जना जाँच गराउन आएको सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले बताए ।