धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सरसफाइ र सुरक्षा श्रमिकहरूले बाँकी पुरानो तलब सहित गत: साउन देखि वृद्धि भएको न्यूनतम पारिश्रमिक पाउनु पर्ने, कटौती गरिएको उनीहरूको हेल्थ कार्डको सुविधालाई निरन्तरता दिनुपर्ने माग गर्दै आज मङ्गलवार पदाधिकारीहरूलाई ज्ञापन पत्र बुझाएका छन् । 

उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिस्ट्रार प्राडा. सूर्यप्रसाद सङ्ग्रौला, निर्देशक जगतनारायणप्रसाद साह र शिक्षाध्यक्ष प्राडा. सञ्जीव शर्मालाई जिफन्ट सम्बद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाइ कर्मचारी युनियनले ज्ञापन पत्र बुझाएको हो ।

पदाधिकारीहरूलाई जिफन्टका केन्द्रीय सदस्य, यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले ज्ञापन पत्र हस्तान्तरण गर्दै प्रतिष्ठानले श्रमिकहरूलाई सेवा सुविधाहरू कटौती गरेर विभेद गरेको आरोप लगाए ।

प्रतिष्ठानका श्रमिकहरूले वर्षौँदेखि पाउँदै आएको हेल्थ कार्डको सुविधा २०८० साउन १ गतेदेखि बन्द गरिएको छ । सरकारले २०८० साउन १ देखि लानुहुने गरी न्यूनतम पारिश्रमिकमा २ हजार ३ सय रुपैयाँ अहिले सम्म श्रमिकहरूलाई नदिइएको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिष्ठानमा केटिएम सेक्युरिटी कम्पनीले ठेक्का सम्झौतामा काम गरेको समयमा सुरक्षा श्रमिकहरूले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३१३ रुपैयाँ तलब लगायतको रकम श्रमिकहरूलाई उपलब्ध गराउन श्रम अदालतले फैसला गरेको थियो ।

उक्त फैसला भएको ४ चार वर्ष हुन लाग्दा पनि मजदुरहरूले पैसा पाएको छैन । उक्त तलब लगायतको रकम केटिएम सेक्युरिटी कम्पनीलाई प्रतिष्ठानले भुक्तान गर्नुपर्ने रकम मध्येबाट कट्टा गरी श्रमिकहरूलाई उपलब्ध गराउन ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले श्रमिकहरूले आन्दोलन गर्न नपर्ने गरी तत्काल विषयहरूको सम्बोधन गरिने बताए । आफू उपकुलपति हुनु अघिका विषय भएकाले आफूलाई श्रमिकहरूको सेवा सुविधाहरू कटौती गरिएको बारेमा जानकारी नभएकाले समस्या लामो समय लम्बिएको उनको भनाई थियो ।

ज्ञापन पत्र बुझाउन जिफन्टका नेता भीम ज्वाला राई, सफाइ कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मग्राती, नगर अध्यक्ष गणेश योङहाङ, जिफन्ट नगर अध्यक्ष शमशेर बर्देवा, सुरक्षा श्रमिक युनियनका अध्यक्ष जनक सुनुवार, उपाध्यक्ष रत्न नेम्वाङ, सचिव प्रवीण राई यातायात स्वतन्त्र मजदुर केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, सुरक्षा श्रमिक नगर अध्यक्ष गोपी योगी गएका थिए ।

BP Parisramik maag news 2