धरान : सागुरीगढी गाउँपालिकाको इनामेमा ख्यातीप्राप्त नेपाली कविहरूको सहभागितामा कविता महोत्सव हुने भएको छ ।

इनामे, डाँडाबजार स्कुलबाट उत्तर गाउँपालिकाको वडा ३ स्थित लिम्बु समुदायको ऐतिहासिक बसोबास भएको गाउँ हो । गाउँका लिम्बुहरूलाई ‘यी नामी’ मानिसहरू भन्ने लोकोक्ति अपभ्रंश भई गाउँको नाम इनामे बसेको हो ।

सोही गाउँको इनामे सेवा समाजले नेपाली नामी कविहरूको आतिथ्यमा कविता महोत्सव आयोजना गर्न लागेको समाजका प्रवक्ता अमित सुब्बाले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

कविता महोत्सव असार १ गते होटेल भेडेटार भिलेज रिसोर्ट सांगुरिगढी–६, थुम्कि धनकुटामा हुने बताइएको छ । महोत्सवमा साँगुरीगढीका कविहरूको प्रतियोगितात्मक गोष्ठी पनि हुनेछ ।

कविता प्रतियोगितामा प्रथम पुरस्कार नगद १५ हजार राखिएको छ । दोस्रो पुरस्कार नगद  १० हजार, तेस्रो पुरस्कार नगद ५ हजार साथै ७ जनालाई १/१ हजार सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

महोत्सवमा नेपालका २५ जना नाम चलेका कविहरूले कविता वाचन गर्नेछन् । उनीहरूलाई काठमाडौँ लगायतबाट निमन्त्रणा गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राई प्रमुख अतिथि रहने छन् । प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी लगायतको विशेष उपस्थिति रहने समाजका अध्यक्ष अरुण देवानले बताए ।