सुनसरी : 'अबको अभिभारा विश्वबाट पोलियो रोग उन्मुलन गराउने हाम्रो जबाफदेहिता' भन्ने मूल नारालाई आत्मासाथ गर्दै सुनसरी जिल्लाका १२ वटै पालिकामा २२ गते देखि २६ गते सम्म पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले जिल्ला खोप समिति तथा सरोकारवालाहरू सँग अभिमुखीकरण कार्यक्रम गर्दै २०७३ वैशाख देखि २०७५ असोज सम्म जन्मिएका ५ वर्ष ५ महिना देखि ८ वर्ष सम्मका बालबालिकाहरूलाई लक्षित गरेर खोप लगाउन लागिएको जानकारी दिएको हो ।
१२३ वटा स्वास्थ्य संस्था र ६७२ खोप केन्द्रबाट अनुमानित ४२१२० जना बालबालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ ।
७४८ जना स्वास्थ्यकर्मीका साथमा १४९६ जना स्वयंसेवक टिम पोलियो खोप सञ्चालनको लागि परिचालन गरिएको छ । सरोकारवाला निकाय सँगको समन्वय गरेको र खोपका लागि आवश्यक सामग्री समेत खोप केन्द्रमा पुगेको हुँदा भोलिबाट पोलियो विरुद्धको खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए ।
पोलियो भाइरसको सङ्क्रमणबाट पक्षाघात हुनसक्ने साथै सङ्क्रमित व्यक्तिको मृत्यु समेत हुनसक्ने जनाउँदै सबैले खोप लगाउनु पर्ने समेत स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । १२५ जना भन्दा बढी विद्यार्थी भएका विद्यालयहरूमा समेत खोप केन्द्र रहने प्रसाईँले जानकारी दिए ।
































































