इटहरी : इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सम्पूर्ण सामुदायिक विद्यालयले साथ दिने भएका छन् । इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घहरूले ३० बुँदे साझा सङ्कल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन ।

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अङ्ग्रेजी माध्यमलाई पनि प्राथमिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउँदै कार्यक्रमलाई प्राथमिकता दिने, अभिभावक र समुदायलाई जोड्न घरदैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा सङ्कल्पको रूपमा अघि सारेका हुन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको सङ्कल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने सङ्कल्प पत्रमा भनिएको छ ।

शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौँ कार्यमा करोडौँ रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइस्तर बढाउँदै लैजाने भनिएको छ।

शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो। समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्‍याउने मार्गदर्शक हो। हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ ।

मानव समुदायलाई आधुनिकता सँगसँगै मानविकी उन्नति र प्रगति तर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिए भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान तीव्र रूपमा अगाडी बढाएका  छन् । सामुदायिक स्कुलमा नेपालकै पहिलो पोषण युक्त नमुना खाजा कार्यक्रम इटहरीबाटै सुरु भएको छ ।

Sankalpa patra  (1)Sankalpa patra  (2)