धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले चारकोशे जङ्गलमा बाँदर सहित वन्यजन्तु, चराचुरुङ्गीलाई लक्षित गरेर फलफूलका बोट बिरुवा वृक्षारोपण गरेको छ ।

धरानमा बाँदरको उपद्रव बढ्नुमा उनीहरूको वासस्थान र प्राकृतिक फलफूलका बोटहरू नसिएको मुख्य कारण बताइँदै आएको बेला सङ्घले फरक उद्देश्य लिएर वृक्षारोपण गरेको हो ।

सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार रोपिएका बोट बिरुवामा आँप, जामुन, कटहर, एभोकार्डो जातका फलफूलको बिरुवा छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सुनसरी र अरुण पेट्रोलियम ट्रेडिङको सहकार्यमा १५० को सङ्ख्यामा वृक्षारोपण गरिएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले बजार नजिकका बन क्षेत्रमा फलफूलका बोट बिरुवा हुर्काउँदै प्राकृतिक आहारमा निर्भर बाँदर लगायत वन्यजन्तु, चराचुरुङ्गीको व्यवस्थापन गर्न सकिने बताए ।

वृक्षारोपण धरान-८ विश्वकर्मा मन्दिर पश्चिमको बन क्षेत्रमा गरिएको हो । सुनसरी जिल्ला बन सब-डिभिजन कार्यालयको सहकार्यमा भएको वृक्षारोपणमा सव-डिभिजन प्रमुख विक्रम अमात्य सहभागी थिए ।

रोपिएका बोट बिरुवाको संरक्षणका लागि वृक्षारोपण क्षेत्रसँगै गाँसिएको लाङ्घाली सामुदायिक बन, विश्वकर्मा मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गरिएको बताइएको छ ।

कार्यक्रममा लाङ्घाली बनउपभोक्ता समितिका अध्यक्ष सुवास राई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ उपस्थित थिए ।