धरान : धरानका उपमेयर अइन्द्रविक्रम बेघाले पहिले कसैले सुन्ला कि भनी लुकाउनु पर्ने परिवार नियोजन अहिले खुल्ला र बाध्यताको विषय बन्दै गएको बताएका छन् ।
परिवार नियोजन सङ्घ सुनसरीको ४५ औँ साधारण सभामा शनिवार उनले परिवार नियोजन सङ्घले बढाएको चेतना फैलाउने र सेवा प्रदान कार्यले ठुलो योगदान गरेको बताए । उनी सभामा प्रमुख अतिथि थिए ।

उद्योग वाणिज्य सङ्घमा भएको सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सागर प्रसाईँ, प्रगति प्रतिवेदन सदस्य सचिव रानु राउतले प्रस्तुत गरे ।
सभामा पूर्व सभापति महेशमोहन पलिखे, श्यामकुमार श्रेष्ठ, पूर्व कर्मचारी सुजन काफ्ले, पूर्व महिला सदस्य अंगिता राईलाई प्रशंसा पत्र प्रदान गरियो ।
रेडक्रस सोसाइटी सभापति उमेश थापा, एमाले अध्यक्ष हर्कजगं एभेङ, इटहरी-५ वडाध्यक्ष भीष्म काफ्ले लगायतले शुभकामना प्रकट गरे ।
संशोधित विधानको चक्रीय प्रणालीमा हरेक वर्ष हुने सदस्यहरूको निर्वाचनमा यस वर्ष ४ जना सदस्यहरू निर्विरोध निर्वाचित भए । निर्वाचन अधिकृत विष्णु बरालले ४ जना सदस्यको निर्वाचन नतिजा घोषणा गरे ।
सभापति निर्मला अधिकारीको अध्यक्षतामा भएको सभाको सञ्चालन सदस्य प्रशिका निरौलाले गरेकी थिइन् । स्वागत मन्तव्य विशेषज्ञ सदस्य कला थापाले गरिन् ।