धरान : कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले आज आइतबार धरान-२ लाई बालमैत्री वडा घोषणा गरेकी छन् ।

उनले घोषण सभामा समाजमा बालबालिकालाई असल, सभ्य र नैतिकवान बनाउन बालमैत्री समाजको ठुलो भूमिका हुने बताइन् ।

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले बालमैत्री वडाको नियम र सर्त अनुसार वडा २ ले ५१ वटा सूचक पुरा गरेकोमा बधाई तथा शुभकामना दिए ।

धरानको कुल भूभाग मध्ये ० दशमलव १७ वर्ग किमी ओगटेको वडा २ मा कुल ५१४ घरधुरीमा ३०३ जना बालबालिका छन् । त्यसमध्ये १४० जना बालक र १६३ जना बालिका छन् ।

वडाध्यक्ष रमेश राईले धरान २ बालमैत्री वडा घोषणा हुने १८ औँ वडा भएको बताए । उनका अनुसार वडाले ५० वटा सूचकमा १०० प्रतिशत र एउटामा ८० प्रतिशत अङ्क ल्याएको छ ।

धरानमा बालमैत्री घोषणा हुन अब १ र ९ वडा बाँकी छन् । २० वटा वडा मध्ये सबैभन्दा पहिले धरान १३ बालमैत्री वडा घोषणा भएको थियो । त्यसपछि धरान १३ सहित १८ वटा वडाहरू बालमैत्री घोषणा भैसकेका छन् ।

सभामा वडा ४ अध्यक्ष धनबहादुर राई, वडा १३ का अध्यक्ष नेत्र काफ्ले, १० वडा अध्यक्ष विवेक राई, वडा ३ का अध्यक्ष विद्या शाक्य लगायतका वडा अध्यक्षहरू उपस्थित थिए । नेपाली काँग्रेस सभापति श्याम पोख्रेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेग उपस्थित थिए ।

Dharan--wada-program