वराहक्षेत्र : श्रावण महिनाको सोमवार चतराधाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ ।

उक्त मेलाको व्यवस्थापनका लागि सोमवार विभिन्न समिति गठन गरिएको छ । वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरिएको हो ।

नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय भेलाले मेला व्यवस्थापन समितिको संरक्षकमा नगर प्रमुख रमेश कार्कीलाई चयन गरेको छ ।

समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार रहेकी छिन् । जसमा सदस्यहरूमा वडा नं १ का वडाध्यक्ष किसन थापा, वडा नं २ का वडाध्यक्ष होम प्रसाद गौतम, वडा नं १ का वडा सदस्यहरू, राजनैतिक दलका प्रतिनिधि, खानेपानी, रेडक्रस, चतरा अस्पताल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय, धार्मिक सङ्घ, संस्था सदस्य रहेका छन् । त्यस्तै मेला आर्थिक व्यवस्थापन समितिको संयोजकमा वडा नं १ वडाध्यक्ष किसन थापा रहेका छन् । सदस्यमा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, उद्योग वाणिज्य सङ्घ चतरा, नेपाल रेडक्रस सोसाइटी र सदस्य सचिवमा वडा नं १ का सचिव लक्ष्मण पौडेल रहेका छन् । शान्ति सुरक्षामा इलाका प्रहरी कार्यालय चतरा, सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा रहेका छन् ।

त्यस्तै स्वास्थ्य उपसमितिको संयोजकमा चतरा अस्पताल, खानेपानी तथा सरसफाइको संयोजकमा तोरीवारी खानेपानी उपभोक्ता समिति, विद्युत् संयोजकमा वडा नं १ का वडा सदस्य दीपक राई, स्नान घाट व्यवस्थापन समितिको संयोजकमा स्थानिय देउराली युवा क्लब, प्रचार प्रसार उपसमितिको संयोजकमा स्थानिय पत्रकार भविन राउत, अनुगमन व्यवस्थापन उप-समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, स्वयंसेवक उपसमितिको संयोजकमा स्काउटलाई जिम्मेवारी दिएको वडा नं १ का सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोलबम मेलाको व्यवस्थापन, प्रचार प्रसार र मेलालाई व्यवस्थित तथा आकर्षित बनाउने विषयमा उपस्थित सरोकारवाला निकायले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले मेलालाई सभ्य, भव्य बनाउन लागि पर्न आग्रह गरेका थिए । मेलाको व्यवस्थापनमा नगरपालिका लागि पर्ने उनले बताए ।

वडा नं १ का अध्यक्ष किसन थापाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम,  सशस्त्र प्रहरी बल बेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शङ्कर कुमार कोईरला शान्ति सुरक्षामा इलाका प्रहरी कार्यालय चतरा वरिष्ठ प्रहरी नायव निरीक्षक मुना डागि, राजनैतिक दलका प्रतिनिधि, खानेपानी, रेडक्रस, चतरा अस्पताल, उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकाय, पत्रकारहरू, धार्मिक सङ्घ, संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।