विराटनगर : नेपाल-भारत सिमानाका विराटनगर रानी-जोगबनीमा सङ्क्रामक रोग परीक्षणका लागि स्थायी स्वास्थ्य सेवा सञ्चालन गर्न भवन निर्माण भएको छ ।

सेभ द चिल्ड्रेनसँगको सहकार्यमा निर्मित भवनको मंगलबार एक कार्यक्रम बिच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । भवन संयुक्त लगानीमा निर्माण गरिएको हो ।

भवनमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूमा सङ्क्रामक रोग छ छैन भन्ने जोखिमको नियमित चेकजाँच गरिने छ । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार हरेक प्रमुख नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने हुन्छ ।

नेपाल सरकारको नीति अनुसार महानगरपालिकाले रानी नाकामा महामारी रोकथाम गर्न हेल्थ डेस्क सञ्चालन गर्दै आएको थियो । अस्थायी टेन्टमा चल्दै आएको डेस्क अब स्थायी रूपमा भवनबाट सञ्चालन हुने भएको छ ।

भवन निर्माणले नेपालको प्रमुख नाकामा यात्रुहरूको स्वास्थ्य जाँच, परामर्श, निदान वा प्रेषण सेवा मार्फत सङ्क्रामक रोगको नियन्त्रणमा प्रभावकारी भूमिका हुने विश्वास गरिएको छ ।

हाल हेल्प डेस्कमा एचआइभी, एड्स, क्षयरोग, मलेरिया, कोभिड जस्ता सङ्क्रामक रोगको चेकजाँच हुँदै आएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले बताए ।

स्थायी भवन महानगरपालिकाको २० लाख रुपैयाँ र सेभ द चिल्ड्रेनको १५ लाख ७६ हजार लागतमा निर्माण गरिएको हो ।

उद्घाटनको अवसरमा भवनको चाबी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फन्ड प्रमुख दीपक पौडेलले मेयर कोइरालालाई हस्तान्तरण गरेका थिए ।

ग्लोबल फण्डले महोत्तरीको जलेश्वर नगरपालिका मलिवारा भिट्टामोडमा पनि समेत हेल्थ डेस्कको लागि भवन निर्माण गरेको पौडेलले जानकारी दिए ।

मेयर कोइरालाले भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा स्वास्थ्य सेवा भवनबाट समयमै सङ्क्रमित व्यक्तिहरूको पहिचान गर्न सहज हुने बताउँदै भवनमा जनशक्ति सहित स्वास्थ्य उपकरण व्यवस्था गरिने जनाए ।

Swasthya samaroh Udhghatan 081-03-25 2nd