धरान : प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा मङ्गलवार राती नियन्त्रणमा लिइएको ४ ट्रक खयरको काठको अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय धरानका प्रमुख विक्रम अमात्यले बताएका छन् ।

नियन्त्रणमा लिइएका ट्रकहरूका चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको हो । रामेछाप बन कार्यालयबाट ३ वटा ट्रकको छुट पुर्जी दिएकोमा धरान सम्म ४ ट्रक खयरको काठ बिना रोकटोक कसरी आइपुग्यो ? प्रश्न उठेको छ ।

नियन्त्रणमा लिइएको ४ ट्रक मध्ये एउटा ट्रकको बाटैमा सिल तोडिएको डिभिजन प्रमुख अमात्यले बताए । उन अनुसार ३ वटा छुट पुर्जीमा ४ ट्रकमा परिमाण अनुमान भन्दा बढी देखिएकोले अवैध खयरको काठ ल्याइएको आशङ्कामा पक्राउ गरिएको हो ।

आएको ४ मध्ये १ ट्रकको सिल तोडिएको पाइएकोले अनुसन्धानको ध्यान त्यसमा पनि केन्द्रित रहको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार उक्त विषयहरूमा अनुसन्धानका लागि रामेछापका बन अधिकृत देवेन्द्र यादव र वनपाले डिना कुमारी डोङ तामाङलाई तत्काल डिभिजन बन कार्यालय धरानमा हाजिर हुन पत्राचार गरिएको छ ।

रामेछापबाट धरान सम्म खयरको काठ ढुवानी गर्ने ठेक्का लिएका ठेकेदार पाँचथर तुम्बेवा गाउँपालिका-३ का ५१ वर्षीय श्यामशेर सम्बाहाम्फेलाई शुक्रवार पक्राउ गरिएको छ । उनलाई तरहरा बन हिरासतमा राखिएको छ ।

ट्रकका चालकहरू ५० वर्षीय तेजबहादुर तिम्सिना, २६ वर्षीय गणेश परियार, ३५ वर्षीय मन कुमार माझी, ३६ वर्षीय खड्गबहादुर तामाङहरूलाई पनि हिरासतमा राखिएको छ ।

धरान–८ तीनकुनेबाट प्रजिअ तिवारी राती १० बजेको समयमा आफै उपस्थित भई निर्देशन दिएपछि प्रहरीले ट्रकहरू नियन्त्रणमा लिएको थियो । उक्त खयरको काठ धरान-८ स्थित धरान औद्योगिक क्षेत्र स्थित सूर्य कत्था उद्योगमा ल्याइएको डिभिजन प्रमुख अमात्यले बताए ।

उक्त उद्योगका धनि रोशन सोनीको कोभिड महामारीको बेला देहान्त भैसकेको छ । सोनीको शेषपछि उद्योग हाल उनको श्रीमतीले सञ्चालन गर्दै आएकी छन् । सञ्चालकसँग फोन गर्दा सम्पर्क हुन सकेन ।

उद्योग र बन कार्यालय आमने सामने छ । प्रजिअ तिवारीले ट्रक पक्राउ गरेको घटनास्थल पनि त्यहीँ छ । ट्रकहरू औद्योगिक क्षेत्र भित्र प्रवेश गर्न त्यहाँबाट १० मिनेट पनि लाग्दैन । प्रजिअ तिवारीले खयरको काठ सहित ट्रकहरू औद्योगिक क्षेत्र भित्र प्रवेश गर्नु अघि नियन्त्रणमा लिएका हुन् । अनुसन्धानको दायरामा उद्योग पर्छ पर्दैन त्यस बारे भने केही बताइएको छैन ।

प्रमुख जिल्ला अधिकारी तिवारीले ४ वटा ट्रकमा खयरको लकडी चोरी पैठारी भएको विशेष सूचना पाएकोले काठ सहित ट्रकहरू स्वयं उपस्थित भई खयर सहितको ट्रक नियन्त्रणमा लिन राती १० बजे आफै धरान आएको बताएका छन् ।

४ वटा ट्रकमा करोडौँ मूल्यको खयरको काठ रहेकोले गहन ढङ्गले वन कार्यालयले अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय धरानका प्रमुख विक्रम अमात्यले बताए ।

जाँचबुझका लागि सब डिभिजन वन कार्यालय पाँच कन्याका अधिकृत महेश कुमार शाह र अधिकृत रमेश रेग्मी टोली गठन गरेको छ ।