झापा : मुलुकको ४५ औँ प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको निर्वाचन क्षेत्रवासीहरू ओली प्रधानमन्त्री भएपछि निक्कै खुसी देखिन्छन् । विगतमा पनि ओली प्रधानमन्त्री बनेका बेला धेरै कामहरू भएको स्मरण गर्दै उनीहरू अब बाँकी रहेका कामहरू पुरा गर्न र सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

उनको गृह नगर दमकमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी विगतमा पनि ओलीले आफ्नो निर्वाचन क्षेत्र र गृह नगरमा धेरै नै महत्त्वपूर्ण योजनाहरू ल्याएको र केही पुरा पनि भएको तर केही योजनाहरू अझै पनि अधुरा नै रहेको भन्दै अब ओली पुन प्रधानमन्त्री बनेपछि भने ती अधुरा कामहरू पनि पुरा हुनेमा आफू आशावादी रहेको बताउँछन् ।

देश विकासका लागि ओलीले गरेको सङ्कल्प र लिएको अठोटलाई कसैले बाधा नपुर्‍याउने र उनलाई सहज रूपमा काम गर्न दिने हो भने देशमा उत्पन्न नैराश्य आफै हराएर जाने ओलीको गृह नगर दमकका एलेक्स भट्टराई बताउँछन् ।

काँग्रेस र एमाले मिलेर देश चलाउने जनादेश गत निर्वाचनमा मतदाताले दिएको भए पनि बल्ल आएर उक्त जनादेशको कदर भएको धेरैको बुझाइ छ । नवनियुक्त प्रधानमन्त्री ओलीले कुनै एक क्षेत्रको मात्रै नभएर समग्र देशकै विकासमा महत्त्वपूर्ण योगदान गर्लान् कि भन्ने आशा रहेको दमक बहुमुखी क्याम्पसका सह प्राध्यापक डा.नेत्र बहादुर बुढाथोकी बताउँछन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीसामु चुनौतीका चाङ पनि छन् । विशेष गरी अहिले देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । अहिले देखिएको आर्थिक मन्दीलाई सहजीकरण गर्दै मुलुकमा देखिएको आर्थिक समस्याका विषयलाई क्रमशः हल गर्न सुझाव दिन्छन् दमकका सहकारी कर्मी खोमप्रसाद बगाले ।

उद्यमी व्यवसायीमा पनि पलायो आशा

आफैले भोट खसालेर पठाएका सांसद मुलुकको प्रधानमन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रका उद्यमी व्यवसायी पनि उत्साहित बनेका छन् । गृहनगरवासीहरू ओलीलाई बधाई भन्दै शुभकामना पनि व्यक्त गरिरहेका छन् । बधाई र शुभकामना व्यक्त गर्दै गर्दा स्थानीय व्यवसायी प्रेम दाहाल नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नै आशा र अपेक्षा रहेको भए पनि त्यो पुरा हुनेमा भने झिनो मात्रै आशा रहेको बताउँछन् । यद्यपि, ओलीसँग भिजन भएका कारण यहाँका उद्यमी व्यवसायीहरूले आशा भने मारेका छैनन् ।

दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्काले एमाले अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य केपी शर्मा ओली प्रधानमन्त्री बन्दा दमकका उद्यमी व्यवसायी खुसी भएको बताए । केपी ओली प्रधानमन्त्री हुँदा सुरु भएको औद्योगिक पार्क निर्माण उनी पुन प्रधानमन्त्री बनेकै बेला सम्पन्न हुनुपर्नेमा उनले जोड दिएका छन् ।

यस्तै व्यापारिक टावरको हिसाबले निर्माण सम्पन्न भएको दमक भ्यु टावर कसरी सञ्चालन गर्ने भन्ने विषयमा देखिएको अन्यौलता पनि ओलीकै प्रधानमन्त्रीत्वकालमा हटेर जान्छ कि भन्नेमा आफू आशावादी रहेको दमकस्थित होटेल पाथीभराका सञ्चालक तथा होटेल व्यवसायी महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजन दँगाल बताउँछन् । यसले दमकको मात्र नभएर पूर्वकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले यस विषयमा प्रधानमन्त्री ओलीले पक्कै बिचार गर्लान् भन्ने आशा राखेको उनी सुनाउँछन् ।

यहाँका व्यवसायीहरू ओली प्रधानमन्त्री बन्दै गर्दा देशमा देखिएको आर्थिक मन्दी र व्यवसायीहरूमा देखिएको चरम नैराश्यतालाई पनि ओली नेतृत्वको सरकारले सम्बोधन गर्ला भन्ने आशा पलाएको बताउँछन् । झापा दमकका औषधि व्यवसायी विवेक बजगाईँ ओलीलाई बधाई सँगै पुराना र अधुरा काम पुरा हुनेमा आशावादी नै देखिन्छन् । अहिले व्यवसायीहरूमा देखिएको आर्थिक सङ्कटलाई राज्यले पनि केही हदसम्म पार लगाउने कोसिस होला कि भन्नेमा आफू आशावादी रहेको उनले सुनाए ।

आर्थिक मन्दी, राजनीतिक अस्थिरता लगायतका कारण देखिएको निराशा चिर्नुपर्ने दायित्व यो सरकारलाई छ । त्यति मात्र होइन सरकारका अगाडि आन्तरिक राजनीति, अर्थतन्त्रमा देखिएको समस्या समाधानदेखि छिमेकीहरूसँगको सम्बन्ध सन्तुलित राख्ने सम्मका चुनौती छन् । तर, ओलीले यी समस्यालाई सन्तुलित ढङ्गले सामना गर्दै समाधान गर्छन् भन्ने विश्वास आफूमा रहेको झापा दमककी उद्यमी माया फुयाँल बताउँछिन् ।

Jhapa 2

Jhapa