- अनुसा थापा
घरमा पालिएको पशु चौपाया होस् या जङ्गलका जनावर बोल्न सक्दैनन् । तर, यिनीहरू मानिसले बोलेको कुरा बुझ्छन् । साँच्चिकै भन्नुपर्दा पशु चौपाया र जङ्गली जनावरहरू मानवभन्दा बढी बुद्धिजीवी हुन्छन् । यिनीहरूलाई के गर्नु हुन्छ र के गर्नु हुन्न भनेर थाहा हुन्छ । हामी मानिससँग त बोल्न सक्ने क्षमता पनि छ ।
अहिले अधिकांश मानिस शिक्षित छन् । बोल्न नसक्ने वा अशिक्षित पशुले त कुन काम गलत र कुन कम सही भनेर छुट्याउन सक्छ भने हामीले त झनै बुझ्नुपर्ने हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री भए । त्यतिबेला अर्थमन्त्री विष्णु पौडेल भएका थिए ।
०७९ फागुल्न १७ गते एमाले प्रचण्ड सरकारबाट बाहिरियो । त्यसपछि पौडेलको पनि अर्थमन्त्री पद गुम्यो । अहिले विष्णु पौडेल पुनः अर्थमन्त्री बनेका छन् । गत असार ३१ गते मात्र गठन भएको नयाँ सरकार उनी अर्थमन्त्री बनेका हुन् । काँग्रेस-एमालेले मिलेर नयाँ सरकार गठन गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।
तर, कानुन व्यवसायीहरूले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन नगरिएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दर्ता गरिसकेका छन् । सर्वसाधारण भन्छन्, 'ओली सरकार बढीमा दश दिन टिक्छ । अदालतले हटाइदिन्छ ।' पहिला पनि अदालतकै कारण ओलीको प्रधानमन्त्री पद गएको थियो ।
०७८ असार २८ गते सर्वोच्च अदालतले दुई पटक संसद् विघटन गरेका ओलीको प्रधानमन्त्री पद खोसिदिएको थियो । यदि अब सर्वोच्च अदालतले ओलीकै पक्षमा फैसला सुनाए पनि अहिले आम नागरिक भन्छन्, 'यो सरकार सय दिनभन्दा उता टिक्दैन ।' बच्चादेखि बुढासम्मलाई थाहा छ कि काँग्रेस-एमाले आफ्ना काण्ड लुकाउन मिलेका हुन् ।
झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने ओली नै हुन् । यसअघि प्रधानमन्त्री हुँदा उनले मन्त्रिपरिषद् मार्फत नै यस्तो निर्णय गरेर राज्यलाई हानि नोक्सानी वा सरकारी सम्पत्तिको दोहन गरे । यता, काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता छ भन्ने कुरा प्रस्ट भइसकेको छ ।
त्यसैले, ओलीले आफू बच्न र देउवाले पत्नी जोगाउन सहमति गरेका हुन् । बजारमा पूरै मन्दी छ । बैङ्कमा कर्जा माग्न जाने कोही छैन । बैङ्क टाट पल्टिसकेको छ । सहकारी, लघुवित्त, फाइनान्सहरू पनि सबै भागिसकेका छन् । घरजग्गा, गाडीको किनबेचमा खडेरी नै आएको छ । केही वर्षअघि मात्र करोडमा किनेको घरजग्गा अहिले लाखमा बिक्री हुन्न । लाखमा किनिएको सवारीसाधन पनि बिस-तीस हजारमा समेत बिक्री हुँदैनन् । अहिले नयाँ होस् या पुरानो जुनसुकै सवारीसाधनको किनबेचमा मन्दी छ ।
काठमाडौँ उपत्यका सहित देशभर घरहरू खाली हुँदै गएका छन् । जताततै कोठा, सटर र फ्ल्याट खाली भएका छन् । भाडामा बस्नेभन्दा अहिले टुप्लेट लेखिएको बढी भेटिन्छ । यता, व्यापार व्यवसाय पनि पूरै मन्दीमा छ । व्यापारीहरू पलायन हुन थालेका छन् । हुन पनि त हो दिनभर एउटै पनि ग्राहक नआएपछि कसरी सटर भाडा तिर्ने ? कसरी जीविकोपार्जन गर्ने ?
अहिले अधिकांश व्यापारी विदेश पलायन भएका छन् । धेरैले ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । कतिपय देशै छोडेर भागेका छन् । बैङ्क, सहकारी, लघुवित्त, फाइनान्सले पनि सर्वसाधारणको उत्तिकै बिजोग बनाएको छ । बैङ्कमा बचतकर्ता राखेको पैसा कर्मचारीहरूले खाताबाटै चोरिएको घटना बाहिरिएका छन् । सहकारीमा करोडौँ बचतकर्ताले खर्बौँ रकम राखेका थिए ।
तर, सहकारीका सञ्चालकहरू बचतकर्ताको रकम लिएर रातारात फरार भएका छन् । अहिले ती बचतकर्ताहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । हिजो खाई नखाई, घरजग्गा बेचेर, जीवनभर कमाएको पैसा सहकारीमा राखेका ती बचतकर्ता आज सहकारीकै कारण डिप्रेसनमा गएका छन् । कतिपयले त आत्महत्या गरेको पनि सुनिन्छ । यता, दलालीहरूले सेयरमा पनि ठुलो चलखेल गरे ।
बैङ्कले सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालीहरूले मूल्य बढाएर ३५ सयमा बेचे । रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन समेत खण्डीकरण गरेर आनाकै ६०-७० लाखमा बेचिदिए । गाडीमा एक लाखमा पाइने सवारीसाधन पनि यहाँ लाखदेखि करोडमा बेचियो । बजार चलायमान हुँदा सबैले सबैलाई ठगे ।
घरधनीहरूले एउटा सानो चिसो र अँध्यारो कोठाको ठाउँ अनुसार पाँच हजारदेखि २० हजारसम्म लिए । एउटा सटरको २५ हजारदेखि १८ लाख, एक फ्ल्याटको ३० हजारदेखि दुई लाख असुले । खाली सटर त झन् २० लाखदेखि ५० लाखसम्म किनबेच गरियो । अहिले विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयर बजार तातिएको छ । तर, उनी न कुनै अर्थविद् हुन् न त सेयर व्यापारी । उनी एमालेमा संलग्न एक साधारण व्यक्ति मात्र हुन् ।
एमाले सरकारबाट बाहिरिएसँगै उनको पनि अर्थमन्त्री पद गुम्नेछ । अनि अहिले महँगोमा सेयर किन्ने सर्वसाधारण फेरि पनि डुब्नेछन् । बैङ्क, बिमा र हाइड्रोपावर कम्पनी घाटामा गएका छन् । सेयरमा लगानी गर्ने नै यी तीन संस्था हुन् । फेरि यिनीहरू नै घाटामा गएपछि कसरी सेयरको मूल्य बढ्छ ?
अहिले सेयर दलालीहरूले विष्णु पौडेलको नाम फिँजाएर महँगोमा सेयर किन्न लगाई पुनः आम नागरिक फसाउने रणनीति बनाएका छन् । त्यसैले, अब सर्वसाधारण फस्नु हुन्न । यसअघि पनि यिनीहरूले यसरी नै सर्वसाधारण डुबाए । घर खेत नै बेचेर सेयरमा लगानी गरेका सर्वसाधारणहरू डुबेपछि आत्महत्या गर्नुपर्ने अवस्थामा समेत पुगे ।
बुढोपाकाले भन्थे, 'कि पढेर जान्नुपर्छ कि परेर जान्नुपर्छ ।' केही वर्षअघि सङ्घीय संसद् भवन अगाडि एक व्यक्तिले आत्म दहन गरे । व्यापार व्यवसायमा डुबेपछि उनले संसद् भवनअगाडि नै आफूमाथि पेट्रोल खन्याएर आगो लगाए । नेपालमा उद्योग, कलकारखाना केही छैन । त्यसैले, सेयरको मूल्य बढ्ने कुनै आधार छैन ।
तर, सेयर दलालीहरूले अहिले पौडेल अर्थमन्त्री हुनासाथ ह्वात्तै मूल्य बढाएका छन् । सेयरमा निश्चित ठुला व्यक्तिको लगानी छ । उनीहरूले हल्ला फिँजाएर जुनसुकै बेला पनि सेयरको मूल्य बढाउँछन् अनि महँगोमा सेयर किन्न लगाएर सर्वसाधारण फसाउँछन् । हामी मानिस पनि आफूलाई शिक्षित भन्छौँ । यद्यपि, हामीसँग कुनै कुरा ठिक र कुन बेठिक भनेर छुट्याउन सक्ने क्षमता छैन ।
केही वर्षअघि पनि सेयरको मूल्य ह्वात्तै बढेको थियो । दलालीहरूले सय रुपैयाँको सेयर ३५ सय रुपैयाँमा सर्वसाधारणलाई बेचियो । फेरि सर्वसाधारणले त्यो सेयर किन्नासाथ सेयरको मूल्य ह्वात्तै घट्यो । ३५ सयको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था निम्तियो । यहीँ कारणले कतिपयले त आत्महत्या समेत गरे ।
किनकि उनीहरूले आफ्नो घरजग्गा, गाडी, पुर्ख्यौली सम्पत्ति बेचेर वा जीवनभर कमाएको करोडौँ रकम सेयरमा लगानी गरेका थिए । सेयरमा लगानी गर्दा सर्वसाधारणलाई कुनै फाइदा छैन । सेयर भनेको जुवा हो । यसमा दलालीहरूले कब्जा जमाउँदै आएका छन् । उनीहरू आफू सस्तोमा सेयर किन्छन् अनि बजार तताएर महँगोमा बेच्छन् ।
फेरि सर्वसाधारण बेच्न बेला भने सेयरको मूल्यमा गिरावट ल्याइदिन्छन् । त्यसैले, अब आम नागरिक सचेत हुन जरुरी छ । जथाभाबी सेयरमा लगानी गर्नुहुन्न । दलालीहरूको लहैलहैमा नलगौँ । किनकि बैङ्क, वित्तीय संस्थाहरू घाटामा गइसकेका छन् । अझै पनि सर्वसाधारण सचेत नहुने हो भने अहिले महँगोमा सेयर किन्ने जनता केही महिनामै पासो लगाउनुपर्ने अवस्थामा पुग्नेछन् ।