विराटनगर : विराटनगरका सामुदायिक विद्यालयको गुणस्तर बढाउन महानगरपालिका शिक्षा समितिले शिक्षण कार्यमा लापरबाही गरेको पाइएमा अनुगमन समितिलाई कारबाही गर्ने कार्यादेश दिएको छ ।

त्यसको लागि महानगरपालिकाले अनुगमन टोली गठन गरी निरीक्षणलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिले अनुगमन समिति गठन गरेको हो ।

अनुगमन टोलीले बुधवारदेखि विराटनगरका सामुदायिक विद्यालयहरूको अनुगमन गरेको छ । बिहीबार सम्म टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा ६ वटा विद्यालयको अनुगमन गरेको बताइएको छ ।

समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्ने लगायतका कार्यादेश दिइएको छ । अनुगमनका क्रममा टोलीले सञ्चालन भइरहेको प्रथम त्रैमासिक परीक्षाको समेत अनुगमन गरेको थियो ।

अनुगमनमा भर्ना भएका विद्यार्थी सङ्ख्या र परीक्षा दिने विद्यार्थी सङ्ख्याको विश्लेषण, पठन सीप क्षमताको परीक्षण गरिएको छ । विद्यालय व्यवस्थापनका समस्यामा प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थी समेतसँग छलफल गरिएको अनुगमन समितिका सदस्य सचिव कृष्ण भट्टराईले बताए ।

शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजक रहेको टोलीमा शिक्षा समितिका सदस्य त्रिलोक न्यौपाने, सावित्री पराजुली, सन्तोष पोखरेल र सदस्य सचिव कृष्ण भट्टराई छन् । अनुगमनलाई निरन्तर जारी राख्ने संयोजक भट्टराईले बताए ।

मेयर कोइरालाले भने, ‘कार्यभार सम्हाले देखिनै शिक्षाको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रूपमा अनुगमनको आधारमा मूल्याङ्कन गर्ने नीति लागु गरिएको हो ।’ उनले शिक्षाको गुणस्तर वृद्धि बिना अन्य क्षेत्रको विकास नहुने बताए ।

गुणस्तर वृद्धि गर्न महानगरपालिकाले सबै प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता समेत गरेको छ । अनुगमनका क्रममा पठनपाठनमा लापरबाही गरेको भेटिएमा कारबाही गर्ने सम्मको अधिकार अनुगमन टोलीलाई दिएको मेयर कोइरालाले बताए ।

Biratnagar bidhyalaya Anugaman 2