धरानः प्यालेस्टाइनी हमासका नेता इस्माइल हनियेको गत: बुधवार इरानमा हत्या भएपछि इरानले इजरायल माथि जवाफी कारबाही गर्ने बताएकोले मध्य पूर्वको अवस्था तनावपूर्ण बनेको छ । 

इजरायलले बेरुतमा हिजबुल्लाहका कमाण्डर फौद शुक्रलाई मारेको दाबी गरेको केही घण्टा पछि हनियेको हत्या भएको खबर फैलिएको थियो ।

यसको केन्द्र विन्दु अहिले लेबनान बनेको छ । लेबनानबाट इजरायल तर्फ मिसाइल सहितको रकेट प्रहार सुरु भएकोले त्यहाँ जवाफी कारबाही भए युद्धको स्थिति पैदा हुने निश्चित छ । लेबनानमा घरेलु कामदारको रूपमा पुगेका नेपालीहरू थुप्रै छन् ।

लेबनानको राजधानी बेरुत स्थित अमेरिकी राजदूतावासले आफ्नो नागरिकहरूलाई जतिसक्दो चाँडो हवाई टिकट लिएर लेबनान छाड्न आव्हान गरेको बीबीसीले जनाएको छ ।

यसैगरी बेलायतका विदेश मन्त्री डेविड लेमीले पनि चेतावनी जारी गर्दै त्यस क्षेत्रमा तीव्र गतिमा स्थिति बिग्रँदै गएकोले ब्रिटिस नागरिकहरूलाई लेबनान छाड्न आग्रह गरेका छन् ।

जोर्डनका विदेश मन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न अपिल जारी गरेका छन् । त्यहाँ रहेका सर्वसाधारण नेपाली कामदारहरूका बारेमा नेपाल सरकारले चासो राख्न जरुरी भएको छ ।

लेबनानबाट इरानी हिजबुल्लाहले आइतबार राती इजरायलको बेल हिलेल इलाकामा थुप्रै रकेट प्रहार गरेको थियो । लेबनानको आकाशमा अहिले एयर डिफेन्सले मिसाइल निष्क्रिय गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।