धरान : वर्तमान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदको आउँदो चुनावमा डेमोक्रेटिक पार्टीबाट विधिवत् उम्मेदवार चयन भएकी छन् ।

पार्टीका शुक्रवार सम्पन्न उम्मेदवार चयन प्रक्रियामा उनले सबै भन्दा बढी २३५० जना डेमोक्रेटिक प्रतिनिधिको समर्थन प्राप्त गरेपछि कमला ह्यारिस आधिकारिक रूपमा राष्ट्रपतिको पार्टी उम्मेदवार बनेकी बीबीसीले जनाएको छ ।

कमला ह्यारीस अमेरिकी राजनीतिक दलबाट राष्ट्रपति पदको उम्मेदवार चयन हुने पहिलो कालो वर्णको महिला र पहिलो दक्षिण एसियाली मूलकी महिला हुन ।

आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीबाट भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् । चुनावमा ट्रम्पलाई पराजित गरेमा ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनेछिन् 

वर्तमान राष्ट्रपति जो वाइडन यस अघि स्वयं पार्टीबाट पुनः राष्ट्रपति पदमा उम्मेदवार बन्ने दौडमा थिए । पछिल्लो समय उनले उम्मेदवारीको दौडबाट अलग हुँदै कमला ह्यारिसलाई समर्थन गरेका थिए । उनको समर्थन पाएपछि कमला ह्यारिसले ‘भर्चुअल रोल कल’मा पार्टी भित्र कसैको विरोधको सामना गर्नु परेको छैन ।