धरान : धरान वडा १३ मा कोशी प्रदेश सरकारको खहरे नियन्त्रण बजेटमा बन्दै गरेको ग्याबिन भत्काउने ३ जनालाई प्रहरीले पक्राउ गरी इनरुवा चलान गरेको छ ।

ग्याबिन भत्काउन नेतृत्व गर्ने नगर प्रहरीका असई सुरेश माग्रतीलाई पक्राउ गर्न शुक्रवार उपमहानगरपालिका परिसर पुगेको प्रहरी टोलीलाई प्रमुख हर्क साम्पाङले उनलाई आफै आइतबार जिल्ला प्रहरी कार्यालय इनरुवामा हाजिर गराउने सर्तमा छोडिएको छ । 

ग्याबिन पर्खाल भत्काउने अगुवाहरू ५ जनाको नाममा पक्राउ पुर्जी काटिएको छ । त्यस मध्ये बुधवार साँझ पक्राउ पर्नेहरूमा धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीय राजकुमार राई र ३० वर्षीया पारु राई रहेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले बताए ।

उपभोक्ता समिति मार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ ग्याबिन जाली लगाइएको थियो । पक्राउ परेकी स्थानीय भारती राईले खहरेको बिचमा लगाएको भन्दै नगर प्रमुख साम्पाङलाई मौखिक उजुरी गरेपछि प्रमुख साम्पाङले डोजर लगेर भत्काउन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।

नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो । केही दिनपछि साँझको बेला नगर प्रहरी पठाएर उक्त ग्याबिङ जाली भत्काइएको थियो । भत्काउन भारती राई र उनका आफन्तजनहरूले सघाएका थिए।

नगर प्रमुखले वास्तविकता नबुझी साथै वडा कार्यालय, स्थानीयबासी, टोल विकास संस्थासँग समन्वय नगरी एक्कासि सार्वजनिक सम्पत्ति भत्काएको भन्दै वडाध्यक्ष, स्थानीयबासीहरुले चर्को विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका थिए ।