धरान : धरान वडा १३ को अमर बस्ती (क) खहरेमा कटान रोक्न बनाइएको टेवा पर्खाल ग्याविन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आदेशमा भत्काएको आरोप लगाउँदै वडाका सबै टिएलओको भेलामा स्थानीयले मेयर साम्पाङसँग आफ्नै खर्चमा ग्याबेन पूनःनिर्माण गर्न माग गरेका छन् ।

धरान-१३ वडा कार्यालय परिसरमा आइतबार भएको भेलामा उनीहरूले मेयर साम्पाङले आफ्नै खर्चबाट पूनःनिर्माण कार्य गर्नु पर्ने, श्रमदान र स्थानिय सरकारको कोषबाट बनाए अमान्य हुने बताएका छन् ।

ग्याविन पर्खाल बनाएपछि मेयर साम्पाङले वडा १३ का अध्यक्ष नेत्र काफलेसँग माफी माग्नुपर्ने माग पनि गरेका छन् । उनीहरूले एक जना महिला भारती राईको कुरा सुनेर वडा १३ को विकासलाई मेयर साम्पाङले रोक्नु र ग्याविन पर्खाल भत्काउनु न्याय सङ्गत नभएको बताएका छन् ।

करिब ८२ मिटर लामो ग्याविनको जाली मध्ये ३० मिटर निर्माण भएको ग्याविन मेयर समर्थित समूह र नगर प्रहरीले गत मंगलबार साँझ भत्काएका थिए ।

उक्त ग्याविन बनाएर खहरे खोला नियन्त्रण व्यवस्थापनका लागि जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कोशी प्रदेशको बजेट प्राप्त भएको थियो । बजेट अपुग हुँदा स्थानीयको श्रम र पसिनाको पैसाबाट निर्माण भएको उनीहरूले बताएका छन् । ग्याविन भत्काउन मेयर साम्पाङले राणा शासनमा जस्तो ‘हुकुमी’ आदेश दिएर जनताको पसिनालाई अपमान गरेको बताएका छन् ।

भेलामा स्थानिय बासिन्दा डिल्ली राईले धरान विकासको लागि चुनेको मेयर साम्पाङ गलत भएको बताए । उनले भने, ‘जनताको मन दुखेको छ, ग्याविन बनाउनुको सट्टा बनेको ग्याविनलाई भताभुङ्ग बनाएको छ ।’

उनले २/३ सय जना श्रमदानमा सघाउन गएकै भरमा संसार जितेको जस्तो मेयर साम्पाङले सम्झन थालेको बताए । उनले भने, ‘हिटलर संसार जित्छु भनेर निक्लिदा भएको हालत जस्तो नहोस् ।’

वडा अध्यक्ष काफलेले लीला बुढाथोकी र गोविन्द श्रेष्ठलाई चेतावनी दिँदै भने, ‘युटुवमा बोले जस्तै आफूले गलत गरेको सत्य रहेछ भने वडा कार्यालय अगाडी रहेको वरको रुखमा जनतालाई साक्षी राखेर सार्वजनिक फाँसी भोग्न तयार छु ।’

उनले फिल्डमा नेत्र काफले गलत गरेको छ भनेर १० जना मान्छेले पुष्टि गरेको खण्डमा आफू जस्तो सुकै सजाय भोग्न तयार रहेको बताए ।

वडा अध्यक्ष काफलेले आफूले जनताको हितमा काम गरेको, जनताको घर र बस्ती जोगाउन जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको बताए । उनले भने, ‘अमर बस्तीको जनता जोगाउन प्रदेश सरकारबाट बजेट ल्याएर जनताको घर, बस्ती जोगाउँदै बाटोको निकास दिन खोजेको हु ।’

उनले मेयर साम्पाङले जस्तो एउटा व्यक्तिको घर जोगाउन सरकारको बजेटलाई दुरुपयोग नगरेको बताए । प्रदेश सरकारको बजेटलाई लत्त्याउँदै ग्याविन पर्खाल भत्काएको विषयमा वडा अध्यक्ष काफलेले बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी दिएको बताए ।

इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानलाई उजुरी तथा ध्यानाकर्षण पत्र पठाएकोमा आज आइतबार प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा स्थलगत अवलोकन समेत गरिएको उनले जानकारी दिए ।

Gyabin dharan news 081-03-16 2ndGyabin dharan news 081-03-16 3rdGyabin dharan news 081-03-16 4th