धरान : सञ्जीवनी केन्द्रद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय आमन्त्रित फुटसल प्रतियोगिता प्रतियोगिताको विजेतालाई प्रदान गरिने नगद पुरस्कार वृद्धि गरेर २ लाख रुपैयाँ पुर्‍याएको छ ।

प्रतियोगिताको तेस्रो संस्करण आउँदो असोज ३ देखी ५ गते सम्म सञ्चालन गरिने जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सम्पूर्ण ताम्रकारले उक्त जानकारी दिएका हुन । यस अघि उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ थियो ।

प्रतियोगितामा नेपालको धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ र भारतको भुटान, सिलिगुडी, सिक्किम, दार्जिलिङ, ग्यान्टोकबाट कुल २२ टिमहरू सहभागी हुने भएका छन् ।

यसपालि प्रतियोगितामा रिकभरीङ टिमहरूलाई मात्र सहभागी गराइने अध्यक्ष ताम्राकारले बताए । उनले दुर्व्यसनीमा फसेका र छुटेका युवाहरूलाई सामाजिकीकरण र भाइचारा सम्बन्ध स्थापित गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोले उनीहरूलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

अघिल्ला प्रतियोगीताहरुमा रिकभरी बाहिरका टिमहरूलाई पनि सहभागी गराइएको थियो । अध्यक्ष ताम्राकारले यसपालि प्रतियोगिता रिकभरि भएकाहरूमा केन्द्रित भएर सञ्चालन गरिन बताए ।

यसपालि प्रतियोगितामा भेट्रान टिमलाई पनि सहभागी गराइने भएको छ । भेट्रान टिममा ४० वर्ष पुगेका २ जना र बाँकी खेलाडी ४२ वर्ष माथिका हुनुपर्ने बताइएको छ ।

यसैगरी रिकभरी महिला टिम महिला टिम पनि प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता ३ क्याटोगोरीमा हुनेछ ।

ओपन रिकभरिङ टिम, रिकभरी भेट्रान टिम र रिकभरी महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । महिला रिकभरी टिम धरानमा पहिलो पटक प्रतियोगिता सहभागी हुने भएको अध्यक्ष ताम्राकारले बताए ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेतालाई नगद पुरस्कार २ लाख रुपैयाँ र उपविजेता टिमलाई नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो २० हजार पुरस्कार र महिला तर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडी र गोलकिपरलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । ओपन रिकभरितर्फ सेमिफाइनलदेखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रहेको अध्यक्ष ताम्राकारले जानकारी दिए । सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो ।

२०६५ सालमा स्थापित केन्द्र धरान-१३ मा सञ्चालित छ । केन्द्रले हाल सम्म धरान, पोखरा, काठमाडौँ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनीमा फसेका २०००  भन्दा बढी युवाहरूलाई परामर्श तथा सेवा प्रदान गरेको छ ।