धरान : सञ्जीवनी उपचार तथा पुनर्स्थापना केन्द्र धरान सुनसरीको आयोजनामा धरानमा सञ्जीवनी फुटसल प्रतियोगिता हुने भएको छ ।

लागूपदार्थ दुर्व्यसनीहरुको उपचार तथा पुनर्स्थापनामा सक्रिय रहेको केन्द्रले पुस २३ र २४ गते धरान-१० स्थित धरान फुटसलको खेल मैदानमा प्रथम सञ्जीवनी फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार धरान, इटहरी, विराटनगर, दमक, काठमाडौँका टिमहरूले प्रतियोगितामा सहभागिता हुनेछन् ।

विजेताले नगद ५१ हजार पुरस्कार पाउनेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफि, मेडल पाउनेछ । यस्तै व्यक्तिगततर्फ वेस्ट प्लेयर, वेस्ट गोलकिपर र म्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ ।

केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले सञ्जीवनी धरान आफै पनि लागूपदार्थ प्रयोग विरुद्धको कार्य गर्ने संस्था रहेको बताउँदै खेलकुदको माध्यमबाट लागूऔषध प्रयोग विरुद्ध सकारात्मक सन्देश दिने बताए ।

अध्यक्ष ताम्राकारका अनुसार फुटसल प्रतियोगिता नव खेलाडीहरूको लागि अवसर र प्रतिभा प्रदर्शन गर्न पाउनेछ भने लागू पदार्थमुक्त समाज स्थापना गर्नमा ठुलो भूमिका खेल्नेछ ।

फुटसल प्रतियोगितामा सङ्कलन भएको रकमबाट पुनर्स्थापना केन्द्रमा रहेका ५ जना आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गरिदिने उनले बताए ।
यस्तै भोलि (सोमबार) दिउँसो २ बजे नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी र आयोजक टिमबिच मैत्रीपूर्ण खेल हुनेछ ।